एमालेको विवाद समाधान कार्यदलका संयोजक रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई आइतबार बिहानै दोहोरो खुशी हात लागेको छ।
एकातिर पार्टी एकताका पक्षमा निरन्तर लागेका उनले त्यस कार्यमा सफलता हात पार्दै थिए, अर्कातर्फ कोपा–अमेरिका फूटबल प्रतियोगिता उनले चाहेको अर्जेन्टिनाले जितेको थियो। त्यो पनि अर्जेन्टिनी ‘स्ट्राइकर’ लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनसहित।
बिहान पौने पाँच बजे भएको खेल हेरेर खुशी हुँदै उनी अर्थ मन्त्रालयमा एमाले विवाद समाधान कार्यदल बैठकमा सहभागी हुन सिंहदरबार प्रवेश गरे।
नेम्वाङ मेसीका ‘फ्यान’ हुन्। ३४ वर्षीय यी खेलाडीको उत्कृष्ट प्रदर्शनका बाबजुद पनि यसअघिका खेलहरुमा मेसीले अर्जेन्टिनाका लागि उपाधि जिताउन नसकेकोमा नेम्वाङ यसअघि दुःखी हुँदै आएका थिए।
६९ वर्षीय नेम्वाङ आफ्नो उमेरका फूटबल खेलाडी हुन्। उनी आफू खेल्ने इलामको क्लबका टीम–क्याप्टेन पनि थिए। अहिले पनि उनको मनबाट फूटबल प्रेम हटेको छैन।
मेसीको उत्कृष्ट प्रदर्शनसहित अर्जेन्टिना सन् २०१४ को विश्वकप फूटबलको फाइनलसम्म पुगे पनि फाइनल जित्न असफल भएको थियो। त्यसबाहेक मेसीकै उत्कृष्ट प्रदर्शनसहित अर्जेन्टिना यसअघि कोपा–अमेरिकाको फाइनलमा दुई पटक पुगे पनि जित्न सफल भएको थिएन।
बिहान सबेरै फूटबल हेरेर मेसीको उत्कृष्ट प्रदर्शनसहित अर्जेन्टिना विजयी भएलगत्तै कार्यदल बैठकमा सहभागी हुन सिंहदरबार प्रवेश गर्नै लाग्दा नेम्वाङले बिएल नेपाली सेवासँग भने, ‘म अत्यन्त खुशी छु। उता कोपा अमेरिकामा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै फाइनल जितेको छ। यता कार्यदलको बैठकले सहमतिमा हस्ताक्षर गरी नेकपा एमालेलाई बुझाउँदै छ। पार्टी एकता जोगाउने हाम्रो निरन्तरको प्रयास सफल भएको छ।’
नेम्वाङले सहमतिको हिजै तयार भएको दस्तावेजमा एक शब्द पनि हेरफेर नगरी आज हस्ताक्षर मात्र गर्ने र पार्टीलाई बुझाउने बताए। उनले एमाले स्थायी कमिटी बैठक आजै राखी त्यसलाई अनुमोदन गर्ने तयारी रहेको र कार्यदलले पनि त्यही सुझाव दिने पनि जानकारी दिए।