कोभिडविरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज चीनबाट नेपाल आइपुगेको छ।
नेपाल वायुसेवा निगमको वाइडबडीले चीनको बेइजिङबाट आज बिहान काठमाडौं ल्याएको हो।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरीद गरेको थियो। जसमध्ये पहिलो चरणमा निगमको जहाजले खोपको आठ लाख डोज नेपाल ल्याएको हो।
आज बिहान नेपाल वायुसेवा निगमको वाइडबडीले चीनको बेइजिङबाट आठ लाख डोज खोप ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
फेरि असार ३१ गते निगमको जहाज दोस्रो चरणमा खोप लिन चीन जाने कार्यतालिका छ। त्यस्तै साउन ७ गते पनि पुनः तेस्रो पटक खोप लिन निगमको जहाज चीन जानेछ।
आज ल्याएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाेषणा गरिसकेकाे छ।