मनसुनी वायुको प्रभावले देशभर लगातार बर्षाः यी क्षेत्र बाढी-पहिराेको उच्च जोखिममा

नेपालमा मनसुन सक्रिय भएसँगै लगातार बर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले बाढी पहिरो आउनसक्ने सम्भावित क्षेत्रका समुदायलाई सर्तक रहन आग्रह गरिरहेका छन्।

मौसम विभागले ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको आंकलन गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तैसुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाका अनुसार आज महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, माङ्दी लगायतमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना छ।

कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, लगायतमा बहाब केही बढ्ने र यीनका सहायक केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराईको भूभाग भई बहने स(साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान छ।

यस वर्षको मनसुनपश्चात देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ। ७१ जना घाइते भएका छन्। 

प्रकाशित मिति: : 2021-07-09 06:56:00

प्रतिकृया दिनुहोस्