सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध हालेकाे रिटको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ।
रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर अदालतमा रिट हालेकी थिइन्।
रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
घरबेटी प्रधान श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।मन्त्रीले नै पीडकको पक्ष लिएर प्रहरी कार्यालय पुगेको र झण्डावाला गाडीमा हालेर घरसम्म पुर्याएको भन्दै तीव्र आलोचना भएको थियो।
अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्।