पार्टीका लागि तीनै जना कोइराला एकधारमा उभिनुपर्छ: अमरसिंह पुन (अन्तर्वार्ता)

जीवन डाँगी

काठमाडौँ

नेपाली कांग्रेसले भदौ १६-१९ गते काठमाडौंमा १४औँ महाधिवेशन गर्ने घोषणा गरिसकेकेको छ। जसअनुसार क्रियाशील सदस्यता नवीकरण तथा सङ्कलनको काम अघि बढाइसकेको छ।

यहीबीच पूर्वमन्त्री तथा कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश–सभापतिमा आफ्नाे उम्मेद्वारी घोषणा गरिसकेका छन्। लामो समयदेखि कोइराला परिवारसँग नजिक रहँदै आएका पुन सो प्रदेशका एक जना प्रभावशाली नेता हुन्।  महाधिवेशनकाे तयारीमा जुटिरहेका नेता अमरसिंह पुनसँग बिएल नेपाली सेवाले गरेको संवाद :

१४औँ महाधिवेशनका लागि कस्तो तयारी चलिरहेको छ?

कांग्रेसको विधानअनुसार, प्रत्येक चार वर्षमा अधिवेशन हुनुपर्ने हो, तर हुन सकेन। केही बाधा आउनाले समय थप गरियो। अब भदौमा अधिवेशन गर्ने तयारी भएको छ। यसको लागि नेपाली कांग्रेको सम्पूर्ण शक्ति कार्यतालिकाअनुसार महाधिवेशन गर्न एकजुट भएर लागेको छ।

शेरबहादुर देउवा पुनः सभापतिको लागि उठ्दै हुनुहुन्छ। त्यस्तै, दोस्रो तहका नेताहरु पनि सभापतिको दौडधूपमा छन्। यस्तो अवस्थामा तपाईंकाे सभापतिको उम्मेदवार काे हाे ?

कांग्रेसबिना यो देशको संविधान, लोकतन्त्र र संसदीय व्यवस्था खतरामा छ भन्ने स्पष्ट छ। त्यस कारण यी कुरा बचाउनको लागि नेपाली कांग्रेस परिमार्जन हुन जरुरी छ।

जब नेपाली कांग्रेको शक्ति कमजोर हुन्छ, तब अन्य शक्ति सल्बलाउने अवस्था हुन्छ। त्यस कारण अहिलेको परिस्थितिमा कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्छ। त्यसैले सकेसम्म सर्वसम्मत रुपमा अघि बढ्नु राम्रो हो।

देउवाजीले उम्मेद्वार हुन नपाउने भन्ने कुरा भएन। तर, उहाँले पार्टीका लागि के–के गर्नुभयो?  के कारणकाे लागि हामीले भोट दिनुपर्छ? भन्ने मूल्य–मान्यतासहित नेताहरुले एक खालको वातावरण बनाउनुहुन्छ।

कम्तिमा पार्टीलाई सङ्गठित बनाएर यो देशको लोकतन्त्र र सु–शासनसहित संघीय गणतन्त्र बचाउन  यो पार्टीका नेताहरु एकजूट हुनुको विकल्प छैन।

त्यस कारण अहिलेको परिस्थिति अनुसार संस्थापन र इतर पक्षका जतिले उम्मेद्वारी घोषण गर्नु भएको छ, उहाँहरुले सबै बुझ्नुभएको छ। जसको पक्षमा एक–दुई मत बढी छ, उसको पक्षमा पार्टी हाँक्नलाई उम्मेद्वार बनाएर अरु नेताहरुले सहयोग गर्नुपर्छ। 

पार्टीलाई कम्तिमा एक चोटी संस्थागत रुपमा अगाडि बढाउनलाई त्यो खालको वातावरण नेताहरुले बनाउनुपर्छ। हामी जिल्ला सभापतिहरुले यसलाई बनाउनुपर्छ भन्ने मान्यता हुँदैन।

तपाईंले कोइराला परिवारसँग निकट रहेर काम गर्नुभयो। कोइराला परिवारबाटै सभापतिको उम्मेद्वार बनाउनुपर्छ भन्ने ‘लबिङ’मा हुनुहुन्छ, याे सम्भव छ?

यही नै सत्य हो भन्ने होइन। कोइराला परिवार पनि एउटा ‘फ्याक्टर’ हो भन्ने कुरा सबैले स्वीकार गर्नुपर्छ तर कोइरालाभित्रैबाट बन्नुपर्छ भन्ने अवस्था अहिलेसम्म छैन्।

म पार्टीमा आवद्ध भएदेखि गिरिजाप्रसाद कोइरालाबाट सुशील कोइराला हुँदै शेखर र सुजाता कोइरालासँग नजिक छु तर मेरो मान्यता उहाँहरु मात्रै भएर पनि यो पार्टी चल्दैन। पार्टीलाई गणेशमान सिंहका छोराको त्यत्तिकै आवश्यकता छ भने रामचन्द्र पौडेलको त्यत्तिकै महत्व छ।

कोइराला परिवारबाट नेतृत्वका लागि कसलाई याेग्य देख्नुहुन्छ?

हिजो सुशील कोइरालासँग काम गर्दैगर्दा महामन्त्री कृष्ण सिटौला (दाइ) सँग पनि त्यत्तिकै नजिक थिएँ म। १३औं महाधिवेशनमा उहाँहरुको टीम मिलेन। जहाँ कोइराला, त्यहाँ म थिए। तर, सुशीला कोइरालापछि मैले मान्ने नेता नै आदरणीय कृष्ण सिटौला हुनुहुन्थ्यो र उहाँसँग भन्थेँ, ‘जहाँ कोइराला, त्यहाँ अमर।'

त्यस कारण पनि तपाईंसँग रहन सकिनँ, सरी ! कोइरालासँगै बस्नुभयो भने त्यही हुन्छु, मेरो पहिलो नेता हो। तपाईं कोइरालासँग नरहँदा तपाईंसँग रहन सक्दिनँ।’

रोज्नै परे कोइराला रोजूलाँ, त्यो आफ्नो कुरा ठाउँमा छ। तर, समग्र टीमले निर्णय गर्दा प्रकाशमान सिंह, रामचन्द्र पौडेल अथवा अरू कोहीलाई गर्दा पनि मैले स्वीकार गर्नुपर्छ। भोलि कोइरालाभित्र रोज्नै पर्‍यो भने पार्टीलाई बचाई राख्नुपर्छ भन्ने मान्यता राख्नेलाई रोजूलाँ । अहिले यही कोइराला रोज्छु भन्ने छैन। कोइराला परिवारभित्र सबै जना एकसेएक हुनुहुन्छ, त्यसमा दुई मत छैन। कसलाई उम्मेदवार बनाउने हो, उहाँहरु एकमत भएर अगाडि बढ्नुहुन्छ भन्ने मलाई विश्वास छ।

तपाईं डा. शेखर कोइरालाको पक्षमा वातावरण बनाउन रामचन्द्र पौडेल, गगन थापा र प्रकाशमान सिंहलगायतका नेताहरूकोमा दौड्धूप गरिरहनुभएकाे छ नि, हैन?

होइन। म तीनजानै कोइरालासँग नजिक छु। अरुसँगभन्दा म महामन्त्री शशांक कोइरालासँग अलि बढी नजिक छु। शेखर कोइरालासँग अलि बढी कुरा मिलेको छ, त्यो आफ्नो ठाउँमा होला तर  जोसुकै हुनुहोस्, एकजुट हुनुहोस् भन्ने मेराे चाहना हाे।

सक्नेले सबैलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ, नसक्नेले स्थान छाड्नुपर्छ किनकि पार्टी बचाउनुपर्छ । याे नै मुख्य कुरा हाे। त्यस कारण प्रकाशमान (दाइ) सँग पनि मेरो कुरा यही हुन्छ, सबै जना एक टीममा जोडिनुपर्छ भन्ने मेरो मान्यता हो। 

कसैले मलाई शेखर कोइरालासँग देख्याे हाेला। याे पनि सही हाे कि शेखरको पक्ष बढी भएर उहाँकै पक्षमा सबै लाग्दा म पनि त्यहीँ लाग्छु।

त्यस कारण आज योसँग नजिक अरुसँग टाढा भन्ने कुरा होइन। काम गर्दै जाँदा संभावना जोसँग छ, त्यो सँग लाग्ने कुरा रहन्छ। भोलि म मात्रै होइन, सबै कोइराला उहाँसँगै लाग्नुहुन्छ। हामी अवस्थाअनुसार सबै एक ठाउँमा लाग्छौं। 

डा. शशाङ्क, डा. शेखर  र सुजfता कोइरालामध्ये तपाई|काे राेजाइमा काे हुनसक्छ?

तीनै जना मेरालागि सम्मानित हुनुहुन्छ। अहिलेको अवस्थामा महामन्त्री शशांकले जुन रुपमा पार्टीलाई क्रियाशील बनाउनुपर्थ्याे, त्यो भएन। उहाँ महामन्त्री भएर जसरी काम गर्नुपर्थ्याे, त्यो सक्नु भएन। त्यसमा उहाँका बाध्यता, स्वास्थ्य अवस्थाजस्ता कारण होलान् तर पनि उहाँलाई ‘इग्नोर’ गर्ने अवस्था छैन्। बीपीको छोराको नाममा उहाँलाई पनि सबैले मान्छन्। 

अहिलेको परिस्थितिमा कांग्रेसको संरक्षण र अब कांग्रेस कसरी अगाडि जाने भन्ने कुराको चिन्ता शेखर कोइरालाले गरेको अनुभूति हामीलाई भएकै छ। देशभरिको वातावरण शेखर कोइरालाको पक्षमा देखिन्छ तर शेखर मात्रै सबै कुरा हाे भन्ने हाेइन।

शेखरको जागरुपता र शशाङ्कको ‘साइलेन्स’ जोडेर नेतृत्व गर्ने अथवा दुवै कोइरालाले अरु कसैलाई नेतृत्व गराउने भन्ने कुरामा उहाँहरु एकमत हुनुपर्छ। अरुको भन्दा शेखरको पक्षमा माहोल राम्रो भएको देखिन्छ।

डा. शेखर र डा. शशाङ्कको मिलन बिन्दु भेटाउन सकिन्छ?

बाहिर आएजस्तो उहाँहरुभित्र केही पनि छैन। वास्तममा कांग्रेस निर्माण गर्नुमा कोइराला परिवारको ठूला योगदान छ। उहाँहरू राजनीति संस्कार भएको परिवारबाट आउनुभएकाे हाे। उहाँहरुले आफूले इच्छा त गर्नुहोला।

दुवैका आ–आफ्नै इच्छा हुन्छन् नै तर पार्टीका लागि तीनै जना कोइराला एक धारमा उभिनुपर्छ। मलाई विश्वास छ, उहाँहरु बीच कुनै खालको विमति छैन। एक ठाउँमा हुनुन्छ। काेइराला परिवारका अनुहार तीनतिर फर्किएका छन् भन्ने कुरा गलत हो। आन्तरिक रुपमा उहाँहरु एक हुनुहुन्छ।

संस्थापन पक्षले आधिकारिक उम्मेद्वार कहिलेसम्म टुङ्गो लगाउला?

जबसम्म क्षेत्रको अधिवेशन सकिँदैन, त्यति बेलासम्म हुँदैन। जिल्ला र क्षेत्रको अधिवेशन साउन २६ गते सकिन्छ। त्यसपछि एउटा खालको तस्वीर आइसक्छ। त्यसपछि नेताहरु बसेर आधिकारिक उम्मेद्वार टुङ्गो लगाउने काम हुन्छ।

गगन थापालाई कुन पदमा देख्न चाहनुहन्छ?

उहाँको ‘क्रेज’ निकै राम्रो छ। हिजो महामन्त्री लडेको अवस्था र युवाहरूको प्रतिनिधित्व गरेको हुनाले उहाँ महामन्त्रीको दाबेदार हो। महामन्त्री नै हुँदा राम्रो हुन्छ। उहाँको आधिकारिक उम्मेदारी घोषणा भएको छैन तर पनि उहाँको तयारी त्यही नै होेला।



पौडेल समूहमा 'मास्टर प्लानर' बन्दै नेता पुन, सहमतिको सुत्र खोज्दै दौडधुप

प्रकाशित मिति: : 2021-07-04 18:50:00

प्रतिकृया दिनुहोस्