म्यान्मारमा नागरिक आक्रमणः ४४ सुरक्षाकर्मीको मृत्यु

सुधा अत्रि

म्यान्मार
Photo: Sagaing PDF

म्यान्मारको सागाईँ प्रान्तस्थित पूर्वीक्षेत्रमा नागरिक सुरक्षा बलको आक्रमणबाट ४४ जना सैनिकको ज्यान गएको राष्ट्रिय एकता सरकारका अधिकारीहरूले पुष्टि गरेका छन्।

सैन्य ‘कू’यता आन्दोलनमा उत्रिएको नागरिक समूहले सरकारी सैनिकमाथि ठाउँ–ठाउँमा विरोध तथा आक्रमण गर्ने क्रमलाई निरन्तरता दिएको छ।

सुरक्षाकर्मी र नागरिकबीचको मुठभेडमा सरकारी सैनिक मारिएको स्थानीयले दावी गरेका छन्। गत जून २४ देखि २६ सम्म दुई समूहबीच हिंसात्मक झडप भएको थियो।

पूर्वी सागाईँका वस्ती–वस्तीमा सरकारी सैनिकले गाउँलेमाथि आक्रमण थालेपछि स्वतन्त्र नागरिकहरूको सुरक्षा समूहले जवाफी कारबाही गर्दा ४४ सुरक्षा मारिएको र दर्जनौं घाइते भएको नागरिक सुरक्षा बलकाे दावी छ। 

तर, सैन्य जुन्ता सरकारले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन। 

सरकारी सुरक्षाकर्मीसँग मुठभेड हुँदा नागरिक बललाई विद्रोही संगठन कचिन स्वतन्त्र सेना (केआईए)ले दह्रो साथ दिएको मिजिमाले जनाएको छ। केआईए म्यान्मारको बलियो विद्रोही राजनीतिक तथा लडाकू शक्ति मानिन्छ।

सैन्य ‘कू’पछि नागरिकस्तरबाट सुरक्षाकर्मीमाथि गरिएको यो सबैभन्दा ठूलो आक्रमण हो। ‘कू’को विरोध तथा प्रतिकार गर्न देशभर नै नागरिक दस्ता गठन गरिएको छ।


जुन्ताको बन्दूकलाई जित्न बन्दूक चलाउन नपरोस् !

प्रकाशित मिति: : 2021-06-30 07:09:00

प्रतिकृया दिनुहोस्