वासिन्दालाई पानी वितरण

File photo
File photo

व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा सोही वडा स्थित माइली डाँडाका वासिन्दालाई ओभरहेड टयाङ्की निर्माण गरेर पानी वितरण गरिएको छ।

खानेपानीको मुहान भन्दा बस्ती उचाइमा रहेकोले ओभरहेड टयाङ्की निर्माण गरी लिफ्टीङको माध्यमबाट माइली डाँडाका करिब ५० घरधुरीमा पानी वितरण गरिएको हो।

उक्त खानेपानी संस्थाले व्यासनगरपालिका–१ र १२ का गरी कूल दुईहजार ५०० घरधुरीमा खानेपानी वितरण गर्दै आएको छ। नगरपालिकाको रु.१५ लाख र खानेपानी संस्थाको रु.चार लाखमा निर्माण सम्पन्न गरिएको समितिका व्यवस्थापक इश्वर श्रेष्ठले जानकारी दिए। 

उक्त खानेपानी संस्थाको रत्यौली स्थित खानेपानीको दुई वटा ट्रिटमेन्ट प्लान्ट जोखिममा रहेको छ। वर्षाका कारण ट्रिटमेन्ट प्लान्ट नजिकै पहिरो गएपछि जोखिममा परेको हो।

उक्त प्लान्ट फुट्न सक्ने देखिएपछि पर्खाल लगाउने कार्य शुरु गरिएको छ। सो प्लान्ट साढे दुई लाख लिटर क्षमता छ। प्रतिसेकेण्ड १५ लिटर पानी ट्रिटमेन्ट गर्ने क्षमता रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए।

त्यसैगरी छाव्दीखोला स्थित बोरिङ लिफ्टीङ खानेपानी तथा करादी खिरखाँदी आयोजनामा बाढी र पहिरोले क्षति पुगेको मर्मत संम्भारको कार्य भैरहेको सो संस्थाले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-28 18:50:00

प्रतिकृया दिनुहोस्