निर्वासनमा रहेका उइगरहरुले भने- 'सिन्जियाङमा जबरजस्ती गर्भपतन गराउने र यातना दिइयो'

Photo : AP
Photo : AP

चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र यातना शिविरमा राख्ने गरेकाे पाइएकाे छ।

चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे वर्णन गरेका छन्। उनीहरुलाई त्यहाँ जबर्जस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएका छन्।

तीन महिला मध्येकी एकले आफूलाई करिब साढे महिनाको अवधिमा गर्भपतन गर्न लगाइएको बताएकी छन्। पूर्व चिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्‍नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको उनले बताएकी छन्।

सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रात-दिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेकोसमेत बताएकी छन्। उनले भनिन्, "म साढे ६ महिनाकी गर्भवती थिए। प्रहरीहरु आए। जसमा एक उइगर थिए र दुई चिनियाँ थिए। मलाई कारमा राखेर अस्पताल लगे। त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ।" 

५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पील दिइएको बताइन्। आफूलाई त्यो के हो भन्‍ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन्। चिनियाँ अधिकारीहरुले हरेक घर-घरमा मानिसहरु पठाएर महिलाको 'अल्ट्रासाउन्ड' गर्ने र गर्भवती भए-नभएको विवरण संकलन गर्ने गरेको बताएकी छन्।

चिनियाँ अधिकारीहरुको निर्देशन नमान्‍नेहरुलाई यातना शिविरमा लगेर पटक-पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन्।

चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन्। चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए।

प्रकाशित मिति: : 2021-06-24 08:37:00

प्रतिकृया दिनुहोस्