सोमालियामा अल सेबाबका नौं लडाकू मारिए

सोमालियामा यहाँको सेनाले गरेको कारबाहीमा कम्तीमा पनि नौ जना सशस्त्र लडाकू मारिएका छन्। 

सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाको मध्य भागमा रहेको एक प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका नौ जना लडाकू मारिएका हुन्। 

सोमालियको मध्य प्रान्त साबेलेमा राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो। सो कारबाहीमा परेर नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन्। सोमालियामा केही दिनमात्र अघि पनि नमाम भन्ने नगरमा भएको अर्का एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका थिए। 

ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो। त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो। 

मंगलबारको कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ। अरु कैयौँ घाइते पनि भएका छन्। रासस 

प्रकाशित मिति: : 2021-06-16 19:36:00

प्रतिकृया दिनुहोस्