सोमालियामा आत्मघाती आक्रमणमा १५ सैनिकको मृत्यु

सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन्। 

प्रहरी प्रवक्ता सदिक अलि अडेनले बिस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिए। 

शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ। यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग गरिरहेको छ। 

घटना लगत्तै सबै मृतक एवं घाइतेलाई मेडिना अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। उनीहरुको भनाईमा कम्तीमा १४ जनाको अवस्था निकै नाजूक छ। आफन्तहरु आक्रमणको शिकार भएको आशंकामा सयौं व्यक्ति अस्पताल परिसरमा भेला भएका थिए। एपी

प्रकाशित मिति: : 2021-06-15 21:04:00

प्रतिकृया दिनुहोस्