गण्डकीको पहिलो मुख्यमन्त्रीको रुपमा पदभार सम्हालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार शुक्रबार ढल्न पुग्यो। प्रदेश सभाबाट विश्वासको मत लिन नसक्दा उनी नेतृत्वको सरकार विस्थापित हुन पुग्यो।
विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली गण्डकीका मुख्यमन्त्रीमा शनिबार नियुक्त भए। शनिबार साँझै पदभार ग्रहण पनि गरे। आफू नेतृत्वको विकल्पमा अर्को सरकार आएपछि तत्कालीन मुख्यमन्त्री गुरुङले आइतबार सरकारी निवासमा पत्रकार भेटघाटका लागि बोलाए।
पत्रकारहरुमाँझ आफ्नो कार्यकालका केही राम्रा कामका फेहरिस्त पनि सुनाए। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली आलोचित भई रहदा उनकै प्रतिगमनकारी बाटोमा हिडेको आरोप खेपेका गुरुङले केपी ओलीले भन्दैमा आफूले निष्ठा नत्याग्ने समेत दाबी गरे।
पृथ्वीसुब्बा गुरुङले बिदाई व्यक्तव्यको पूर्णपाठ यस्तो छः
पत्रकार मित्रहरु
नेपालको संङघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि सम्पन्न निर्वाचनमा गणडकी प्रदेशमा सबैभन्दा ठुलो दलका रुपमा नेकपा एमाले स्थापित भयो। संबैधानिक ब्यबस्था अनुसार गण्डकी प्रदेशका जनताको फैसला बमोजिम नै नेकपा (एमाले) संसदीय दलको नेताको रुपमा गण्डकी प्रदेश सभामा सबभन्दा ठुलो राजनीतिक दलको नेताको हैसियतमा २०७४ फाल्गुन ४ मा र २०७८ बैशाख २९ मा गरी दुई पटक सरकार गठन गरी कामकाज गर्ने अवसर प्राप्त भयो। यो ऐतिहांसिक समय र अबसरका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने प्रदेश सभाका नेकपा एमाले लगायत अन्य राजनीतिक दलका माननीय सदस्यलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु।
गण्डकी प्रदेशका जनताका भाबना, आकांक्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई देशभरका प्रदेशहरुमा अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभाबकारी प्रदेश सभा बनाउन सफलता प्राप्त भयो। सीमित साधन स्रोत र बजेटका आधारमा हामीले प्राप्त गरेका उपलब्धिहरु लोभ लाग्दा छन्। संङघीयताका कोशेढुङ्गा बनेका छन्। प्रदेश सरकार गठन गरी हामीले कार्य प्रारम्भ गर्दा शून्य अवस्थाबाट प्रारम्भ गरेका थियौं। अहिले प्रदेश गौरवका आयोजना अन्तर्गत कोरला त्रिवेणी सडक, शालीग्राम कोरिडोर, प्रदेश प्रशासनिक भवन, प्रदेश सभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन निर्माणका कार्य प्रारम्भ गरिएको छ। त्यस्तै एक निर्वाचन क्षेत्र एक सडक र स्थानीय तहको केन्द्र जोड्ने सडक,उज्यालो गण्डकी प्रदेश, एक घर एक धारा खानेपानी योजना, प्रदेश शिक्षण अस्पताल निर्माण, गण्डकी विश्वविद्यालय र गण्डकी प्राबिधिक प्रतिष्ठानका पूर्वाधार निर्माण, पृथ्बी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति, प्रादेशिक औद्योगिक क्षेत्रको स्थापना जस्ता समृद्धिका कार्यक्रमहरु सुरुवात भएका छन्। आगामी दिनमा यी कामहरु छिटै पूरा गर्ने विश्वास लिन चाहन्छु।
पत्रकार मित्रहरु
यतिबेला नेपालको राजनीतिमा मडारिएको आग्रह, कुण्ठाजन्य आक्रोश र बदलाभावले नेकपा एमालेको गण्डकी प्रदेश सरकारलाई बिस्थापित गरिएको छ।नेपालको लोकतन्त्रको इतिहासमा किन बारम्बार बहुमत प्राप्त सरकारहरुलाई अपदस्थ गर्ने षड्यन्त्रमा स्वयम् दलहरु र तिनको नेतृत्व पङती संलग्न रहन्छ? के हामी यो दुर्दशा सहन अधिशप्त छौं? नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व केवल बिद्रोह गर्नका लागि मात्र हो कि यो निर्माण र बिकासको अगुवापनि हो भन्ने प्रश्नले बारम्बार मलाई झस्काउँछ।हामीले सबै अवरोध पन्छाएर समाजको विकास र रुपान्तरणको नेतृत्व लिनै पर्दछ।टुटाउन खोजिएका जनताका सपना पूरा गर्नै पर्दछ। हामी सत्य र तथ्यको बीच हाम्रा आन्दोलनका उपलब्धि, हाम्रा कार्यकालका प्रतिफल लेखाजोखामात्र गरिरहेका छैनौ।हाम्रा सवलता र दुर्वलताकोपनि समीक्षा गरिरहेका छौं।
जनताका दैन्दिनका सवालहरुका समयोचित र यथोचित जवाफहरु पनि हाम्रा कर्म र कार्यवाट दिईरहेका छौं। गौरवपूर्ण इतिहासको गीत गाएर सुन्दर भबिष्यमा डढेलो सल्काउने कार्य हामी कोही र कसैवाट पनि हुनुहुन्न भन्ने कुरामा म दृढ संकल्पित छु। हामीले सत्तामा हुँदा र नहुँदा, पद पाउँदा र नपाउँदा वोलिने भाषा र गरिने ब्याबहारहरु निरपेक्ष हुनु पर्दछ।जनताप्रति गरिने विश्वासघात कुनैपनि तर्कमा साबित हुन सक्दैन। जनताको निर्णयलाई चुनौती दिन सकिंदैन। गण्डकी प्रदेशका जनता र तिनका सपना पूरा गर्ने कार्यमा अबिचलित रुपमा लागिरहने प्रतिज्ञा पनि गर्दछु। जनता महान छन्।
राजनीति गतिशील हुन्छ।यो गतिशीलता समाज र प्रकृतिको व्दन्दबाट प्राप्त शुन्छ। समाज र यसका परिवर्तनको गति मनोगत आग्रहबाट चालित हुन्न यो त विज्ञानको नियम अनुसार नै चल्दछ। राजनीतिलाई दल र तीनका नेताका कुण्ठा, आग्रह, प्रति आग्रहका कारण पद प्राप्तिको साधन बनाइयो।जसका कारण जनताका दैन्दिनका समस्या समाधान भन्दा सत्ता र शक्तिलाई,आफ्ना र आफ्नो बाहेक पर नसोच्ने मनोरोग राजनीतिमा भित्र्याइयो। राजनीतिलाई सत्ताको खुडकिलो मात्रै बनाउनु हुन्न र सोहि अनुसारको ब्यबाहार गर्नु हुंदैन,भन्नेमा म सचेत छु र रहनेछु।
पत्रकार मित्रहरु
लोकतन्त्र बिधिको ब्यबस्था हो। पारदर्शिता लोकतन्त्रको आत्मा हो। लोकतन्त्रमा सबै कारोवारहरु सफा रहनु अनिवार्य हुन्छ।तर कोरोना महामारीका बेलामापनि सत्ता राजनीतिको दाउपेचमा अल्झिनु न्यासंगत हुँदैनथ्यो।केन्द्रीय राजनीतिको शिकार प्रदेश सरकारहरुमा गरिनु जयज हुन सक्दैन्थ्यो। पक्कैपनि भबिष्यले यो प्रबृतिलाई दण्डित गर्नेछ। म शक्ति पृथकीकरणमा बिश्वास गर्दछु। कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिकाको गतिशीलताले नै लोकतन्त्रको भबिष्य निर्धारण गर्दछ। यसको सबलिकरणमा नेतृत्वको इमान्दारिता प्रमुख शर्त हो। तर किन हाम्रो देशमा सरकार र पार्टीको नेतृत्व गरेकाहरु राष्ट्रियता र लोकतन्त्रमा दृढता पूर्वक उभिन सक्दैनन् र बारम्बार सत्तामा हुँदा र नहुँदा बोली र व्यबाहर बदली रहन्छन्? आफैंले निर्वाचनमा जनताका सामु गरेका प्रतिबध्दता बिपरित गठबन्धनमा रमाउँछन् ? मेरो नेतृत्वको सरकार गठन गर्दा नेकपा (माओवादी) केन्द्र सहयात्री दल थियो। समयक्रममा एउटै दलमा सामेल भएका पनि हौं तर राजनीतिक घटनाक्रम र सर्बोच्चको फैसलापछि दुबै दल छुट्टाछुट्टै भएको तथ्य सांचो हो। तर के एउटा दलभएपछि दलको नीति र नेतृत्वको रक्षा गर्नु पर्दैन? आंफ्नै नेतृत्वका बिरुद्धमा सडक देखि सदन सम्म गरिएका अराजनीतिक गतिबिधिलाई लोकतन्त्र भनेर छुट दिन सकिन्छ र ? लोकतन्त्र भनेको अराजकता होईन। यो भिडतन्त्र पनि होईन। एउटा बिधिमा, नीतिमा, नेतृत्वमा चल्नुपर्ने पार्टीलाई बटुवा वास बस्ने पाटी बनाउन सकिन्छ? नेता त नीति, बिचार, नेतृत्व र बिधिले मात्र बनाउने गर्दछ।
लोकतन्त्रमा सत्तामा रहनु र सत्ता बहिर हुनु सामान्य नै हो।यतिबेला नेकपा एमाले प्रतिपक्षी भएको छ।हामी नयाँ सरकारका राम्रा कामका लागि सहयोग र गलत कामका लागि बिरोधको नीति अख्तियार गर्ने छौं।गण्डकी प्रदेश सभामा रचनात्मक प्रतिपक्षीका रुपमा भूमिका निर्वाह गर्ने छौं।राजनीतिको लामो यात्रामा सहयात्रीहरु फेरिने कुरा नेकपा एमालेका निमित्त अनौठो होइन। अहिले देखापरेको अराजनीतिक गठजोड बदलाभावमा प्रकट भएको हो समय क्रममा पटाक्षेप हुनेछ। जन अभिमतका बिरुध्द बञ्चरो प्रहार गर्ने प्रबृति लोकतन्त्र, संङघीयता र गणतन्त्रका लागि हानी पु–याउने प्रबृति हो। हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीबनभर आफ्नो चोटको याद हुने नै छ। सयौं चोट सहेरपनि जनताका बीचमा रहनेछौं। जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्। लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ। नेतृत्व र पार्टीको पहिचानपनि सङकटमा नै हुनेछ।चुनौतिका पहाड र अवसरका मैदानलाई राम्रैसँग नेकपा एमालेले चिनेको छ भन्ने विश्वाशपनि व्यक्त गर्दछु।
हामीलाई गण्डकी प्रदेशमा सरकार सञ्चालनका क्रममा सहयोग पुराउने सत्ता साझेदार र प्रतिपक्षी सबै राजनीतिक दल, कर्मचारीतन्त्र, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, समर्थक शुभचिन्तक सबैलाई सहयोगका निम्ति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
पत्रकार मित्रहरु
सदा झैं यहाँहरुको सुझाव र सहयोगको अपेक्षा गर्दछु। धन्यवाद।
पृथ्वी सुब्बा गुरुङ
पोखरा, नेपाल
मितिः २०७८–०१–३१