पहिरोसहितको बाढीले आठ परिवार विस्थापित

File photo
File photo

अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन्। 

बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उनीहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन्। 

अव्यवस्थित रुपमा खनिएको सडकले घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, नरबहादुर दमाई, खिमबहादुर दमाई, नवीन दमाई, गम्मरसिं गुरुङ, भूपाल गुरुङ, शेरबहादुर रोका र नरबहादुर गुरुङको घर बाढीले बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ।

विस्थापित भएका गम्मरसिं, भूपाल, शेरबहादुर र नरबहादुर आफन्तको घरमा आश्रय लिएका छन् भने चार दलित परिवार गाउँको खाली गोठमा बस्न बाध्य छन्। 

उनीहरुको अन्य कुनै जायजेथा नभएको बडिगाड गाउँपालिका—७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए। बुधबार राति आएको पहिरोसहितको बाढीले ती परिवारहरु विस्थापित हुनु परेको हो। 

आफूहरुको घरबाहेक अरु सम्पत्ति नभएकाले अब के गर्ने भन्ने समस्या र चिन्तामा रहेका नरबहादुर दमाइले बताए। वडाध्यक्ष गुरुङले हाललाई गाउँमा छिमेकीहरुसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरिएको भएपनि उनीहरुको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-13 18:23:00

प्रतिकृया दिनुहोस्