प्रदेश–प्रमुख झाले लेखे मुख्यमन्त्रीलाई पत्र – 'पहाडी मूल' र दलितसमेत समेटेर सरकारलाई समावेशी बनाउनुस्

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा 'अहिराज'ले मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश सरकारमा गैरमधेसी खसआर्य र दलितसमेत समेटेर समावेशी बनाउन आग्रह गरेका छन्। उनले भनेकाे गैरमधेशीअन्तर्गत उक्त प्रदेशका 'अल्पसंख्यक' पहाडी मूलका बासिन्दा (खसआर्य) पर्छन् ।

प्रदेश नम्बर २ काे उत्तरी भेगमा 'पहाडी समुदाय' (खसआर्य) को बाक्लो बस्ती छ भने जिल्ला सदरमुकाममा पनि पुस्तौँदेखि बसोबास गर्दैआएका पहाडी मूलका बासिन्दा छन् । त्यसबाहेक देहातमा पनि थोरै सङ्ख्यामा पहाडी मूलका व्यक्तिको बसोबास रहेको छ ।  प्रदेशसभामा पनि सो समुदायकाे प्रतिनिधित्व छ तर नवगठित सरकारमा भने एक जना पनि मन्त्री पहाडी मूल, महिला, दलित समुदायका छैनन् । प्रदेश प्रमुख  झाले मुख्यमन्त्रीलाई शुक्रबार एक पत्र लेख्दै सरकार गैरमधेसी र दलितसमेत समेटेर समावेशी बनाउन ध्यानाकर्षण गराएका हुन्।

‘प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व पनि हो,’ झाले  पत्रमा भनेका छन्, ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ।’

प्रकाशित मिति: : 2021-06-13 17:06:00

प्रतिकृया दिनुहोस्