उपनिर्वाचन : इलाम २मा महिला मतदाताको सहभागिता उत्साहजनक, नेतालाई गाउँको विकास गरिदिन अनुरोध

इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी गङ्गादेवी राई वर्षले ७९ वर्षका भइन्। उनलाई हिडडुल गर्न लट्ठीको सहारा नभइहुँदैन। शनिबार बिहान उनी लट्ठीकै सहारामा गाउँ नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयमा पुगिन्। 

किनकि यस विद्यालयमा इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतदान केन्द्र छ। विद्यालयमा मतदान केन्द्र भएपछि बिहानै मतदात गर्ने उनी पुगेकी हुन्। 

ज्येष्ठ नागरिक उनी लाइनमा नबसी मतदान गरिन्। र मतदान गरेर निस्किइन्। उनले यसरी मतदान गरेको कयौँ पटक भइसकेकाे छ। कतिपटक मतदान गरे भन्ने उनलाई ठ्याक्कै सम्झनामा छैन। 

तर धेरै पटक मतदान गरेर जिताएर पठाएका नेताहरूले भने उनले सोचेअनुसार गाउँको विकास गर्न सकेका छैनन्। भनेअनुसार गाउँमा विकास नहुँदा उनी नेतासँग दुखेसो पनि पोख्छिन्।

‘यतिका उमेरसम्म दर्जनौँ पटक मतदान गरियो, आफूले मतदान गरेकाले  जितेर पनि गए, तर गाउँको विकास भएन’, उनी भन्छिन्। 

माङसेबुङ गाउँपालिका-२ डाँडागाउँकी अर्की एकल महिला आशमति लिम्बूले पनि मतदानमा सहभागी भइन्। पञ्चायतकालदेखि मतदान गर्दै आएको उनले राम्रो मान्छे जिताउन मतदान गर्न आएको बताइन्।  

लठ्ठीको सहारामा आधा घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म आएकी उनले बेलाबेलामा मतदान गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको बताइन्। 

राई र लिम्बूमात्र होइन, इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार जारी मतदानमा महिला मतदाताको उपस्थिति उत्साहजनक छ। बिरामी, अशक्त, वृद्धवृद्धाले अप्ठ्यारोसमेत बिर्सेर उपनिर्वाचनमा मतदान गर्न मतदान केन्द्रमा पुगेका छन्।

जिसमा महिता मतदाताको सहभागिता उत्साहजनक छ। 

यस निर्वाचन क्षेत्रमा कूल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेकोमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई तेस्रो लिङ्गी मतदाता छन्।

यहाँ तोकिएका ७९ मतदानस्थलमा १ सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ।

यसैबीच ५२ प्रतिशत मत खसेको छ। दिउँसो ३ः३० बजेसम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको छ। 

खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो। सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

२०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराइएको हो। 

प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएमा उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ। इलाम–२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति: : 2024-04-27 16:57:00

प्रतिकृया दिनुहोस्