धनगढीमा ३५० पिन्ट रगत सङ्कलन

File photo
File photo

सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ। 

धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरु गरेको रक्तदान कार्यक्रमको ३०औँ दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको सुरक्षित मातृत्व सञ्जाल महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए। 

कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुसालले भने। 

कोरोनाका कारणले मात्र अप्ठ्यारो परेका मानिसलाई मात्र नभई अन्य नियमित रुपमा चाहिने व्यक्ति, दुर्घटनामा परेका, डेलिभरीलगायत अन्य बिरामीका लागि पनि रगत सजिलै उपलब्ध गराउने अभियान रहेको उनको भनाइ छ। 

रक्तदान कार्यक्रमलाई अझै प्रभावकारी बनाउन केही दिन समुदाय तथा वडास्तरमा समेत रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ। 

एकमहिने रक्तदान अभियानमा हालसम्म यहाँका विभिन्न सङ्घसंस्था तथा क्लबमा आबद्ध व्यक्ति, विद्यार्थी, खेलाडी, दलका भ्रातृ सङ्गठन, समाजसेवी, सर्वसाधारण लगायतले रक्तदान गरेको महासङ्घले जनाएको छ। रासस 


स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठ
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु गरेको छ। 

पहिलो चरणको कोरोनाबाट बच्न २०७६ साल चैत ११ गते बन्दाबन्दी जारी गरिएदेखि नै विद्यापीठले विद्युतीय कक्षा शुरु गरेको थियो।

विद्युतीय कक्षामा भौतिक कक्षामा भन्दा ४० प्रतिशत कम विद्यार्थी सहभागी भएपछि विद्यापीठमा स्मार्ट कक्षा निर्माण शुरु गरिएको प्राचार्य भागवत ढकालले जानकारी दिए। विद्यापीठका ६० प्रतिशत विद्यार्थीले भने नियमितरुपमा विद्युतीय माध्यमबाट कक्षा लिइरहेका छन्।

घरमा इन्टरनेट सुविधा नहुने प्राध्यापक एवं विद्यार्थीका लागि क्याम्पसमा उपकरणसहित स्मार्ट कक्षाको व्यवस्थाले सहयोग पुग्ने विश्वास गरिएको छ। 

विद्यापीठमा हाल शास्त्री र आचार्यको पठनपाठन हुन्छ। शास्त्रीमा १३ आधुनिक विषयसहित १७ संस्कृतका शास्त्रीय विषयमा पठनपाठन गरिन्छ। हाल विश्वविद्यालयले चारवर्षे शास्त्री कक्षा सञ्चालन गरिरहेको छ। आचार्यमा भने संस्कृतका १७ वटा शास्त्रीय विषयमा अध्यापन भइरहेको छ। 

संस्कृतमा शास्त्री (स्नातक) पढ्न चाहनेका लागि संस्कृत भाषा प्रशिक्षण प्राक्– शास्त्रीको समेत व्यवस्था गरिएको छ । हाल प्राक् शास्त्रीमा ४०० विद्यार्थी अध्ययन गरिरहेका छन्। 

यसैगरी विद्यापीठले कर्मकाण्ड प्रशिक्षण पनि दिइरहेको छ। कर्मकाण्ड प्रशिक्षणमा हाल ८६ विद्यार्थी रहेको प्राचार्य ढकालले जानकारी दिए। 

यसैगरी विद्यापीठले योग तथा प्राकृतिक चिकित्सा विषयका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। सबै तहमा गरी एक हजार विद्यार्थी विद्यापीठमा अध्ययन गरिरहेका छन्। 

विद्यापीठले सोमबार ७०औँ वार्षिकोत्सव जुम प्रविधिबाट नै मनाउन निर्णय गरेको छ। पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सोमबार अपराह्न ४ः०० बजे जुम प्रविधिबाट वार्षिकोत्सव मनाउने तयारी गरिएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-13 15:13:00

प्रतिकृया दिनुहोस्