मार्सीको स्वाद र नुनको सोझो

शिलापत्र

खगेन्द्र संग्राैला

खानलाई मार्सी खुबै मिठो भात हो। तर यो मिठोे मार्सी  शासक र धनाढ्य मनुवाका तुच्छ स्वार्थमा गोजिलिएर एक बद्नाम बिम्ब बनेको छ। जब मार्सीको सम्झना हुन्छ, आँखासामु एउटा दृश्य आउँछ। टेबुलको तीनतिर तीन थान मनुवा बसेका छन्। दुई शासक खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल, एक धनाढ्य दुर्गा प्रसाईं। दुर्गा घरपति हुन्, ओली र दाहाल उनका पाहुना। टेबुलमा चरेसका थालमा मार्सीको भात छ, र वरिपरि यति धेरै परिकार छन्, त्यो दृश्यले कथामा पढिएको चौरासी व्यञ्जनको झल्को दिन्छ।

नुन ख्वाउने धनाढ्य नुन खाने जीवले नुनको सोझो गरेको देख्न चाहन्छ। गुन लाउनेलाई गुन पाउनेले गुनको पैँचो तिर्नुपर्छ भन्ने त लोक–संस्कार नै छ। नुन ख्वाउने र गुन लाउने क्रम मार्सीबाट शुरु भयो। चतुर धनाढ्यले लुब्ध खन्चुवालाई बीच–बीचमा के के ख्यायो, कथा अज्ञात छ। अहिले पुष्पकमल दाहाल कहाँ काखी कन्याउँदै छन्, थाहा छैन। खाएको नुनको सोझो गर्दै गुनको पैँचो तिर्न प्रधानमन्त्री ओली विधि र मर्यादाका याबत् वस्त्र उतारेर कटिबद्ध छन्। दृश्य गजब छ ! नुनदेखि सुनसम्मको गुनबापत ओली दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न कि गर्छु कि मर्छुको अघोरी मुद्रामा छन्।

यत्रतत्र व्याप्त समाचार भन्छ— दुर्गा प्रसाईंको मेडिकल कलेजसँग सम्बन्धन पाउन न्यूनतम योग्यता पनि छैन। योसँग वैधताप्राप्त आशयपत्र छैन। अदालतको सम्बन्धन देऊ भन्ने आदेश छैन। निरीक्षण र अध्ययन गरी चिकित्सा शिक्षा आयोगद्वारा प्रदत्त सिफारिस छैन। तैपनि सञ्चारको कौवा भन्छ— प्रधानमन्त्री ओली जाल र झेल, हैकम र ध्वाँस, बलमिच्याइँ र तोडफोड, हुङ्कार र फुङ्कारको सहाराले कृपाकारी अन्नदाता प्रसाईंलाई सम्बन्धनको पगरी गुथाइदिन आतुर छन्।

प्रकाशित मिति: : 2021-06-13 07:28:00

प्रतिकृया दिनुहोस्