बङ्गलादेशमा लगाइएको देशव्यापी लकडाउनको समयावधि फेरि थप

कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएकाले बङ्लादेशमा लगाइएको लकडाउनको समयावधि फेरि थप गरिएको छ।  

देशव्यापी लकडाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। 

लकडाउनलाई अझै कडा बनाउदै लगिने पनि उनीहरुले बताएका छन्। महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनु परेको उनीहरुको भनाइ छ। 

यसअघि लागु गरिएको लकडाउन आज सोमबार सकिने भएकाले भोलि मंगलबारदेखि लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो। 
बङ्लादेशमा कोरोनाभाइरसको महामारी फैलिएपछि लामो समयदेखि लकाडाउन जारी रहेको छ। यसअघि पनि लकडाउनको समयावधि पटक पटक थप गरिएको थियो। 

अहिले थप गरिएको लकडाउन आगामी जुन १६ को मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

लकडाउनको म्याद थप गर्ने बारेमा सरकारी अधिकारीहरुले सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गरेका थिए। उनीहरूको सुझाव र सिफारिसका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको समयावधि थप गरिएको अधिकारीहरुको भनाइ छ। 

बंलादेशमा अहिले जारी रहेको लकडाउन गत अप्रिल ५ देखि सुरु भएको हो। सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन घोषणा गरिएको थियो।

बंलादेशको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९७० जना नयाँ सङ्क्रमित थपिएका छन।  सोही अवधिमा थप ३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। 

बंलादेशमा अहिलेसम्म कुल आठ लाख १२ हजार ९६० जना सङ्क्रमित भएका छन् भने कुल १२ हजार ८६९ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-07 21:41:00

प्रतिकृया दिनुहोस्