आफू पदमा टिकिरहन मन्त्री फेरिरहने ओली

शिलापत्र

काठमाडौँ

मनबहादुर बस्नेत

स्थिरताको नारासहित सरकारको नेतृत्वमा पुगे, प्रधानमन्त्री केपी ओली । ०७४ फागुनमा दोस्रो खेप प्रधानमन्त्री बनेका ओलीले आफ्नो पद स्थिर बनाइराख्न अन्य मन्त्रालयको नेतृत्व भने अस्थिर बनाइरहे । 

सरकारको नेतृत्व गरेको तीन वर्ष बित्दै गर्दा ओलीले दर्जन पटक आफूमातहतका मन्त्रालयको लगाम यताउता चलाइरहे । विश्वमा कोभिड महामारीको लहर फैलिएर नेपालसमेत संक्रमणको उच्च जोखिममा रहेको भनेर जनस्वास्थ्यविद्हरूले औँलाइरहँदा प्रधानमन्त्री ओलीले रोग निदानमा सक्रिय राखिनुपर्ने स्वास्थ्य मन्त्रालयको नेतृत्व नै पटकपटक हेरफेर गरिदिए । 

चीनमा कोभिड–१९ को भाइरस देखिएकै बेला प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सारेर भानुभक्त ढकाललाई ल्याए । नेपालमा कोरोनाको दोस्रो लहर आउने विज्ञहरूले चेतावनी दिइरहेकै बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व हेरफेर भयो । ढकाललाई पर्यटन मन्त्रालयमा पठाएर हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्रालय हाँक्न आइपुगे । 

मन्त्री फेरबदलमा सक्रियता देखिए पनि कोभिडविरुद्धको खोप भित्र्याउन भने सरकार गफमै खुम्चियो । त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयमा लगेको महिना दिनपछि नै प्रधानमन्त्री ओलीले सबै नेपालीले तीन महिनाभित्र खोप लगाउन पाउने घोषणा गरेका थिए । तर, थप खोप त परै जाओस्, स्वास्थ्य मन्त्रालयले रकम भुक्तानी गरिसकेको कोभिसिल्ड खोपसमेत भारतबाट ल्याउन सकेन ।

प्रकाशित मिति: : 2021-06-04 21:54:00

प्रतिकृया दिनुहोस्