थाहा छ उनलाई, सरकारले कोरोना नियन्त्रणमा ल्याउन उपत्यकामा निषेधाज्ञा लागू गरेको छ। तर, भोक नियन्त्रणमा ल्याउन के गरूँ ? उनलाई आफैँभित्रको प्रश्नले घरमा बस्न दिँदैन।
एक महिनादेखि थन्किएको रित्तो रिक्सा हेर्छन्। रिक्सा रित्तो भएको हो या गोजी ?
उत्तर गम्ने फुर्सद सकिएझैँ लागेको दिन उनी रिक्सा लिएर एकाबिहानै ९ बजे डेराबाट ठमेल निस्किएका हुन्।
१२ वर्ष भयो रत्नबहादुर फुयाँलले रिक्सा चलाएरै परिवारको हातमुख जोड्न थालेको। तर, यो १२ वर्षमा कमाएको बैँक ब्यालेन्स भनेको हातभरि कहिल्यै नजाने गरी बनेका ठेलाका दागहरू मात्रै हुन् भन्ने उनलाई लागेको छ।
ठ्याक्कै एक महिनाको गुप्तवास बसेर निषेधाज्ञा तोडेका रत्नलाई रत्न जस्तै बहुमूल्य लाग्छ समय ! जसका कारण घर बसिरहने धैर्य उनमा रहेन। भन्छन्, ‘हामी बाध्यताले बाहिर आएका हौँ, रहरले होइन।’
बिहान ९ देखि ४ बजेसम्ममा एक जना पनि ग्राहक पाउन सकेका छैनन्, फुयाँलले। ‘यस्तै ताल हो भने रोगले भन्दा मान्छे भोकले मर्छ अब चाँडै, मलाई त त्यस्तो लाग्छ !,’ उनी भन्छन्।