कसैलाई नसुनाएको कुरा

शिलापत्र

काठमाडौँ

नवराज पराजुली

बालापनले मलाई सोध्यो:

'अन्तिम पटक पानीमा कहिले भिजिस् ?
छाता नभएर हैन । यसै । मजा लिँदै । मुख आँ गर्दै आकाशतिर फर्किएर पानी चबाउँदै ! भिजेर घर फर्किएपछि हतारहतार कपडा फेरेर, मकै भुटेर, चिया पकाएर, सिरकमा गुटुमुटु भएर चिया र मकै खाँदै टीभी कहिले हेरिस् ?
अन्तिम पटक यत्तिको बच्चा कहिले भइस् ?
धेरै भयो ?
कि बच्चै हुँदा हो ?
आखिर यति गर्न केले रोक्यो ?
जवानीले ?

जवानीलाई मसँग केको दुस्मनी हँ ? भोलि फेरि  यो जवानीलाई बच्चा नै हुनुपर्नेछ ।'

मैले बालापनलाई केही उत्तर दिन सकिनँ । जवानीको बालापनसँग किन यस्तो दुस्मनी हो, मलाई नै थाहा थिएन । मैले मनमनै वशिर वद्रलाई सम्झेँ:

दुस्मनी जम कर करो लेकिन यह गुंजाइश रहे
जब कभी हम दोश्त हो जाएं तो शर्मिंदा न हो ।

बालापनले फेरि मलाई कोट्यायो र भन्यो:

म अरु केही हैन । तेरो जीवनभरिको हाँडी अड्याउने अगेनो हुँ । यो अगेनोभरि तँलाई जीवनभरिलाई पुग्ने आगो छ । तातो चाहिँदा तातो लिनू । उज्यालो चाहिँदा उज्यालो लिनू । आफैँ पानी खन्याएर मारिनस् भने म तँभित्रै सधैँ रहिरहनेछु । यसो कोट्याइस् मात्रै भने पनि म फेरि तँभित्र तातो हुनेछु । तेरो उज्यालो हुनेछु । मलाई सधैँ तैँसँग राख्छस् ?

प्रकाशित मिति: : 2021-05-28 10:00:00

प्रतिकृया दिनुहोस्