हेमन्त विवश
डोटी शिखर नगरपालिकास्थित देकुराली गाउँका धनिराम भट्ट जब सुन्छन् कोरोना सन्त्रासको खबर, तब सम्झिन्छन् बुवाले उहिले हैजाको प्रकोपका बारेमा भनेको।
त्यतिबेला कैयौं मान्छे घर छोडेर, गाउँ छोडेर खर्कमा बस्न गएका थिए रे। जङ्गलमा अस्थायी बसोवास बनाएर बसेका थिए रे। थिएन त्यतिबेला अहिलेको जस्तो औषधीमूलो। उनकै पालामा पनि बाल्यावस्थामा कहाँ पाउनु औषधी। गाउँघरतिर वैद्यहरूले दिन्थे जडिबुटी। त्यसकै भरमा चलेको थियो गाउँघरको जनजीवन।
दादुरा,औलो, शितला, ज्वरो जस्ता बिमारले कैयौंको ज्यान जान्थ्यो। ८१ वर्षीया भट्टले सुनेका थिएनन् विश्व हल्लाउने यस्ताखाले महामारीका बारेमा।
अचेल उनी हातमा पञ्जा मुखमा मास्क लगाएर हिँडिरहेका मान्छे देख्छन्। अनि कोल पेल्दा हातमा तेल मलेझैं सेनेटाइजर मलिरहेका मान्छेहरू देखेर सोच्न थाल्छन्– ‘एकातिर गाउँघरतिर गाडी पुगेको छ। हातमा पैसा हुँदा पनि अन्न नपाइने जमाना रहेन। नौलो प्रविधिको चमत्कार छ। ठाउँठाउँमा डाक्टर छन्। औषधीका पसल छन्। अर्कोतिर मान्छे पैसामुखी बन्यो। इमान, धर्म, संस्कार सबै छुट्दै गयो। मान्छेमा हुनु पर्ने मानवता रहेन, चारैतिर पाप बढ्न लाग्यो। स्वार्थीहरूको विगविगी भएको समयमा अगुवा भनाउँदा नै बाटो हगुवा बने पछि यस्तै त हो। बाँचुन्जेल केके देख्नु पर्ने हो। केके सुन्नु पर्ने हो।’
विगत सम्झिन बाध्य तुल्याइदिन्छ समयले उनलाई। एकान्तमा बस्दा रामराज्यको कल्पना गर्छन् उनी। रत सुनाउछन् यी पंक्तिः
गले रत्नम् गीता गगन तल रत्नम् हरिकथा
नदी रत्नम् गंगा नरपति रत्नम् रघुपति
परिचित हुन् वा भरखर परिचय भएका नै किन नहुन्, गफगाफका क्रममा डोटीका शक्तिशाली पीठका बारेमा रोचक मिथहरू सुनाउँछन् उनी– ‘'डोटी जिल्लामा अवस्थित केही शक्तिशाली देवताहरू सुर्काल भन्ने गाउँको सलोरे डाँडाको चौतारो भित्र अवस्थित थिए। जुन कुरा कुमाउँका एक जनाले सुइनामा(सपनामा) देखेर खोजीमा आइपुगेछन्। निकै दिन लगाएर उक्त गाउँमा पुगेको तिनको समूहले सोधेछ – ‘सुर्कालको डाँडाको चौतारो कहाँ छ ?’ शंका लागेर उत्तर दिने मान्छेले भनिदिएछ– ‘तमीलाई कुमाउँबाट यता पुग्न जति दिन लाग्यो त्यति दिन अझै हिँडेपछि पुगिन्छ।’ त्यो सुनेर हिँड्दाहिँड्दा थकित भएका कुँमाई फर्केर गएछन्। अनि गाउँलेले उत्खनन् गरेछन् चौतारो मुनि। जहाँबाट क्रमैसँग ठुल्ठूला चारवटा लिङ्गहरू निस्के छन्। ती मध्येका एक भागेश्वर हुन् भने अर्का हुन् काफली। दुईवटा देकुराली माझघर पसे। जहाँ अहिले पनि भँडार छ। नागमल्लका पालादेखिका पुराना भाँडाकुँडा र केही ताम्रपत्र, ताडपत्रलगायतका अभिलेखहरू छन् भँडारभित्र। तर, बाहिरल्याउने शाहस कसैले गर्न सकेका छैनन्।’'
भट्ट कहिले घर नजिकैको त्यो भँडार छेउमा गएर बस्छन्। कहिले निकै माथि रहेको काफलीको मन्दिर अवस्थित डाँडातिर दृष्टि फिजाउँदै तमाखु सल्काएर एकोहोरो उडाइरहन्छन् धुँवा। आस्तिक भावनाका उनी कुराकानीको सिलसिलामा भनिदिन्छन्– ‘यो सब उनैको लिला हो।’
काफली देवताप्रति निकै नै आस्थावान उनले सुनाएको काफलीको कथाको साराशं यस्तो छ– ‘सेलपुङ्गे महराका भैँसीले गोठमा आई दूध नदिएको धेरै दिन भैसकेको थियो। भैँसी चराउने ऐरले चेवाबस्दा देखेछ भैंसीले जङ्गलको बीचमा लिङ्गजस्तो ढुङ्गामा दूध चढाइरहेको। रिसको झोकमा ऐरले हिर्काएछ उक्त लिङ्गमा बन्चरो। बन्चरोले घाउ बनाएको ठाउँबाट रगत बगेको देखेका महराले रगत आएको ठाउँमा नौनीले टाल्न लाग्दा एउटा आवाज सुनिएछ– ‘मलाई माथि डाँडाको टुप्पोमा लग।’ आदेश अनुसार गाडिएको लिङ्ग निकाली घनघोर लेकमा पुर्याई लिङ्गलाई त्यहाँ राखेर उचित स्थानको खोजिगर्न निस्कन खोज्दा देखेछन् लिङ्ग त्यतै गाडिएको।’
यसरी गाथ(लिङ्ग) लगेर जाने क्रममा अघि लागेर बाटो देखाउनेमा थिए रे कैनी लुहार। त्यो दिनदेखि करिव तीन हजार फिट उचाईमा रहेको उक्त स्थानसम्म पूजाआजा गर्न जाने चलन सुरु भयो।
हाल शिखर नगरपालिकाले उक्त स्थानसम्म पुग्न सजिलो होस् भन्ने हेतुले सडक निर्माण गरेको छ भने खानेपानीको व्यवस्था गरी मन्दिर जिर्णोद्धार गर्ने काम भैरहेको छ। जुन ठाउँ धार्मिक पर्यटनका हिसाबले मात्रै नभई ऐतिहासिक र सांस्कृतिक अध्ययनका दृष्टिले पनि निकै नै महत्वपूर्ण छ। भट्टका अनुसार काफली देवता डोटी राजाका पनि कुल देवता हुन्। जसलाई पहिले अस्यू देवता भनिन्थ्यो। अर्जुन शाहीका पालादेखि यिनलाई काफली भन्न थालियो। जसको कथा छुट्टै छ।
नाग मल्ल लावालश्करसहित अछाम गएका बेला बयलपाटामा हिमानी हालेको थियो। यो हिमानीमा खुट्टा नराखी जान पाइँदैन भन्ने कुरा आएछ। नाग मल्लले हिमानी खेल्न थाल्दा तन्त्रमन्त्र गरिएका कारण हिमानी लगातार मच्चिरह्याे। रोक्न खोज्दा रोकिएनछ। अनि उनले काफलीलाई भाकल गरेछन् र हिमानी अर्थात पिङ रोकिएछ। नागमल्ल फर्केपछि काफलीका नाममा गुठी जग्गा छुट्याएछन्। सुन चाँदीका भाँडाकुँडा ( भरडा, आशाबुर्जा, ताउली), जोलो दमाउ ( एक जोर दमाहा) भाला, बल्लम, पितलको गाग्रीलगायत देउकीसमेत चढाएछन्। देउकी चढाउने कार्य उनकै पालामा सुरु भएको हो।
नागमल्लले ती सामग्री चढाइसकेपछि जात्रा गर्ने चलन सुरु भएको मानिन्छ। देउकी चढाउने चलन बन्द भएको चालिस पचास वर्ष जति भए होला। एक जना देउकीबाट जन्मेको पुरुष पच्चिस तीस वर्ष अघिसम्म पर्वका बेलामा आउने मन्दिरको सरसफाइ गर्ने गरेको कुरा सुनाउँछन् उनी।
सुन्दर मनमोहक छ उक्त देवताको मन्दिर अवस्थित ठाउँ। रोचक छन् यससँग जोडिएका मिथहरू जुन कुरा यो छोटो लेखमा उल्लेख गर्नु त्यति सजिलो कर्म पक्कै पनि छैन। यतिखेर प्रसङ्ग आउछ उनै भट्टको। जसले राणा काल भोगे, पञ्चायत भोगे अनि भोगिरहेकै छन् लोकतन्त्र गणतन्त्र पनि।
पछिल्लो समयमा भएको विकास देखेर सम्झिन्छन् पुराना दिनहरू। जतिबेला टनकपुर पुगेर नुनगुड ल्याउनु पर्थ्याे। उनका वुवा बासु भट्ट थला परेपछि पहिलो पटक १६ वर्षको उमेरमा गएका हुन् उनी टनकपुर। जहाँबाट ल्याउनु पर्थ्याे नुन, गुड, भाँडाकुँडा, तमाखुमा मल्ने शिरा, कपडा आदि।
उनी सुनाउँछन्– ‘नुन त भोटेले पनि ल्याएर आउँथे गाउँघरतिर तर पैसाले किन्न पाइदैन थियो। चामलसँग साट्नु पर्थ्याे। ठूलाबडा जमिनदारले मात्र साट्थे चामलसँग नुन। हामी जस्ताका लागि आपूm खानलाई त पुग्दैन थियो कहाँबाट साट्नु। घरमा को कहिले मर्ने हुन् थाहा हुने कुरा भएन। गाउँघरतिर पसल नभएपछि के गर्नु। टालो (कात्रो) पनि ल्याएर आउनु पर्थ्याे र घरमा साँचेर राखिराख्नु पर्थ्याे। त्यतिबेला चिन्दै नचिनेकालाई पनि उधारो सामान दिन्थे टनकपुरका व्यापारीले। एउटा मुसलमानको पसल थियो जहाँ दोस्रो पटक सामान लिन जाँदा बुझाउनु पर्थ्याे। कुमाउँका बाहुन पाँच छ महिना पछि गाउँगाउँमा उधारो उठाउन आउँथे। मनिलाल, मदन गोपाललगायतका केही ब्यापारीले सस्तोमा दिन्थे तर नगद लिन्थे।’
धनिरामका बुवाका पालामा बाटोमा बाघ, भालु र हात्तीको डर हुन्थ्यो। त्यसैले त्यतिबेला तीन चार गाउँका मान्छेहरूबीच सरसल्लाह भएर पचास साठी जनादेखि सय जनासम्मको समूह बनाएर टनकपुर जान्थे। बाटोमा बास बस्ने ठाउँमा चारै दिशा जलाउने हेतुले ठुल्ठूला मुढा जम्मा गर्नु पर्थ्याे। आगो बालेको ठाउँमा आउँदैन थिए बन्यजन्तुहरू।
त्यतिबेला आउन जान २०/२२ दिन लाग्थ्यो। उनको पालामा तीन चार जनाको समूह बनाएर पनि जान थाले। समय पनि १४/१५ दिन मात्रै लाग्ने गरेको कुरा सुनाउँछन् उनी।
२० किलो घ्यूको कन्टर लगेर जान्थे टनकपुर जाँदा। उनका बुवाका पलामा उक्त कन्टरको मूल्य ३० रुपैया थियो। पछि उनले ८० रुपैया सम्ममा बेचे। त्यही पैसाले किनेर ल्याउँथे घरमा लुगाकपडा, नुनगुडलगायतका सामान। २०२२ सालमा भोकमरी हुँदाको समयदेखि २०३९ सालमा असिनाले जिल्लाभरिकै बालीनाली सखाप पार्दाका थुप्रै घटनाहरू छन् उनको सम्झनामा। ती दिन सम्झिएर कुराकानीको बिसौनीमा उनले सुनाए– ‘गरिबका लागि कोरोना महामारी भन्दा कम कष्टपूर्ण थिएनन् ती दिनहरू पनि।’
यस्ता बृद्धबृद्धाहरू इतिहासका साक्षी हुन्। धर्म, संस्कृतिका साथै पुरातात्विक सूचना सम्प्रेषण गर्ने आधार हुन्। ज्ञानका श्रोत हुन्। पाइलैपिच्छे फाइदा मात्रै खोज्ने अहिलेका अधिकांश मान्छेसँग छैन समय यिनीहरूका कुरा सुन्नलाई।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया