एनआरएनए युएईद्वारा अबुधाबीमा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग 

युएईको अबुधाबीमा दुई महिनादेखि समस्यामा परेका ८० जना नेपालीहरुलाई गैरआवसिय नेपाली संघ (एनआरएनए) युएईले खाद्य सामाग्री सहयोग गरेको छ।

कामको खोजिमा १५ महिनाअघि युएई आएका ती नेपालीहरु रोजगारी दिलाउने एजेन्सीले काममा लगाउन नसकेपछि २ महिनादेखि समस्यामा परेका थिए। उनीहरु केही दिनअघि आफ्नो समस्या लिएर अबुधाबीस्थित नेपाली दूतावास पुगेका थिए। दूतावासले एनआरएनएलाई खबर गरेपछि एनआरएनएका प्रतिनिधिहरुले ती नेपालीहरु बस्ने स्थान मफरक गएर १५ दिनलाई पुग्ने खाद्य सामाग्री हस्तान्तरण गरेको हो।

एनआरएनएले आन्तरिक श्रोत जुटाएर ८० जनालाई कम्तीमा १५ दिनलाई खान पुग्ने चामल, दाल, तेल, प्याज लगायतका खाद्यान्न वितरण गरेको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले बताए। अध्यक्ष सिलवालका अनुसार नेपाली रुपैयाँ करिब एक लाख ३० हजार बराबरको खाद्यान्न उपलब्ध गराइएको हो।

राहत पाएपछि  पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दु:खमा साथ दिने रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन्।

एनआरएनए युएईले युएईका मुख्य शहरहरुमा १/१ जना प्रतिनिधी तोकेर समस्यामा परेका नेपालीहरुको सहयोग गर्ने व्यवस्थापन गरेको एनआरएनएका स्वयंसेवक संयोजक प्रवीण पोख्रेलले जानकारी दिए।

उनका अनुसार अबुधाबीमा  फडिन्द्र ढकाल, दुबईमा मदन अधिकारी, सारजामा विरेन्द्र नकर्मी, अजमानमा राजन खतिवडा, राकमा टिएन शर्मा, फुजेरामा सुजन सापकोटा र अलेनमा राजन अधिकारी स्वयंसेवक रहेका छन्।

प्रकाशित मिति: : 2021-05-23 09:31:00

प्रतिकृया दिनुहोस्