प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि प्रधानमन्त्रीको दाबी गर्ने बताएका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले आफूसँग १२१ सीट रहेको बताउँदै भने, ‘म दाबी गर्ने प्रयासमा छु। मसँग १२१ मतभार छ। यदि भरपर्दो आधार लागे म सरकार बनाउँछु।’
उनले राष्ट्रिय सरकार बनाउन पनि आफू तयार रहेको बताए। उनले प्रतिनिधिसभा जोगाउने हो भने सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै अरु दललाई आह्वान पनि गरे।
‘आउनुस्, राष्ट्रिय सरकार बनाऊँ, सहमतिको साथ अघि बढौँ, अविश्वासको बाटो नलागौँ’, प्रधानमन्त्री ओलीले भने, ‘एमालेसँग २७१ मध्ये १२१ सीट छ। अर्को सरकार बन्न नसकेका कारण प्रतिनिधिसभा विघटनमा गयो भने १५० सीट भएका पार्टीहरुले जिम्मेवारी लिनुपर्छ।’