उपचार निःशुल्क हुन सकेन, दाहसंस्कारसमेत सशुल्क

गणेश लम्साल / उत्तम पोख्रेल / विवेक पोख्रेल / रमेश रावल

गत वर्ष कोभिडका नाममा १२ अर्ब खर्च गरेको सरकारले यसपालिको बजेटमा ६ अर्ब बिनियोजन गरेको छ । अझ, चार अर्ब रुपैयाँ कुनै पनि बेला खर्च गर्न सकिने भन्दै मन्त्रिपरिषद्ले सुनिश्चित गरेको छ । तर, कोभिड उपचारमा विपन्न जनताको लाखौँ सकिँदा मूकदर्शक बनेको सरकार दाहसंस्कारमा दाउराबापत १८ देखि २८ हजारसम्म रकम उठाउँदै छ । पूर्व मोरङदेखि पश्चिम सुर्खेतसम्म कैयौँ जिल्लामा दाहसंस्कारको रकम तिर्न सर्वसाधारण बाध्य छन् ।

संक्रमित बाबुको उपचारका लागि कपिलवस्तुबाट आएका एक युवा मंगलबार अपराह्न भरतपुर अस्पताल परिसरमा तनावमा थिए । ऋण खोजेर उपचारका लागि आए पनि बाबुलाई उनले बचाउन सकेनन् । तर, अब शव कसरी व्यवस्थापन गर्ने भनेर तनावले उनी छटपटिँदै थिए । कोभिड संक्रमितको निधन भएमा सेनाले नै अन्त्येष्टिको प्रबन्ध गर्छ भन्ने उनले सुनेका थिए । तर, अस्पताल प्रशासनले उनलाई शववाहन आफैँ खोज्न भन्यो । गाडी खोजेपछि शव उठाउन भने सेनाको प्रतीक्षा गर्नुपर्ने थियो । 

‘बिहान साढे आठ बजे बुबाको मृत्यु भएको हो । तर, अहिले पाँच बजेसम्म पनि टिम आएको छैन । कतिवेला आउने हो, आउने हो कि होइन, केही थाहा भएन,’ उनी विलखबन्दमा थिए । 

घटनाको जानकारी लिएपछि नयाँ पत्रिका टिमले सिडिओ, एसपी र सेनाका कर्णेललाई जानकारी दियो । तर, त्यतिवेलासम्म सेनाको टिमसम्म जानकारी नै पुगेको रहेनछ । अस्पताल, प्रशासन र सेनाबीच समन्वय अभावमा मृतकका अरू आफन्तले पनि यस्तै दुःख पाइरहेको अन्य बिरामीका कुरुवाले बताए । 

ताकेता गरेपछि करिब सात बज्नै लाग्दा सेनाको टिम आयो र शव ‘र्यापिङ’ गरेर गाडीमा राख्यो । यसपालि भने पहिले बुक गरिएको शववाहन आवश्यक पर्दैन भनियो, लायन्स क्लबले सहयोग गरेको बोलेरो गाडीमा नै लग्न सकिन्छ भन्ने सुनेपछि ती युवालाई अलिक राहत भयो । उनको बुबासँगै अन्य तीनजनाको शव बोकेर बोलेरो गाडी देवघाटतर्फ लाग्यो ।

उता त्यही वेला खबर आयो, भरतपुरकै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भने शव लिन सेनाको गाडी पुगेको थियो । तर, गाडी आउन ढिला भएको भन्दै आफन्तले अर्कै गाडी प्रबन्ध गरेर शव उठाइसकेका थिए । 

नारायणी किनारमा पुगेपछि सेनाको टोलीले नै शव चितामा राख्यो र सलामी दिएर हिँड्यो । सलामी दिएपछि सेनाको जिम्मेवारी सकियो, शव दाहसंस्कार गराउने जिम्मेवारी परिवारलाई नै आयो । शव जलाउन बसेका मजदुरले १७ हजार रुपैयाँ मागे । यो सुनेर आफन्तजन फेरि आश्चर्यचकित भए । 

‘अहिले त ११ हजार डिस्काउन्ट भएको हो, हिजोअस्ति त २८ हजार लिन्थ्यौँ । हामीलाई पनि ज्यानको माया छ, जोखिम मोलेर यत्रो काम गरेपछि पारिश्रमिक त लिनुपर्यो नि । दाउरा पनि सित्तै आउने होइन,’ अगुवा सूर्यबहादुर कुमालले भने । 

हो, संक्रमितको शव जोखिम मोलेर जलाउनुपरेपछि सूर्यबहादुर वा अरू कसैले पैसा लिनु स्वाभाविक हो । तर, शवको व्यवस्थापन त सेनामार्फत सरकारले नै गर्ने भनेको हो नि । फेरि निजी समूहलाई ठेक्का दिएको हो ? यो विषयमा हामीले सिडिओ प्रेमलाल लामिछानेबाट जानकारी माग्यौँ । 

प्रकाशित मिति: : 2021-05-19 05:31:00

प्रतिकृया दिनुहोस्