आज जेठ ४ गते। आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमतबिना विदेशी शक्तिहरुको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो।
अहिले कथित 'धर्मनिरपेक्षता'को आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर विदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठित रूपमा भइरहेको छ। लोभलालच र प्रलोभनमा पारेर तथा भ्रम सिर्जना गरेर लाखौंको सङ्ख्यामा धर्मपरिवर्तन गराइएको छ। धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्।
सङ्गठित र योजनावद्ध रूपमा हिन्दु, बौद्ध र किराँत धर्वाबलम्वीहरुको धर्म परिवर्तन गराइएको छ। धर्म संस्कृतिमाथि भइरहेको अतिक्रमण नरोक्ने हो भने कालान्तरमा नेपालमा हिन्दु र बुद्धिष्टहरू नै अल्पमतमा पर्ने खतरा टडकारो देखिन्छ। शदियौँदेखि नेपाली समाजमा कायम रहँदैआएको धार्मिक, सामाजिक र सांस्कृतिक एकता र सद्भाव खल्बलिएर देशमा धार्मिक द्वन्द बढ्ने छ। अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचान नै समाप्त हुनेछ।
यो तीतो यथार्थप्रति देशका बौद्धिक जमात उदासिन मात्र होईन, असहिष्णु पनि बन्दै गइरहेका छन्। माओवादी विद्रोहकालमा कायम गरिएको हिंसात्मक आतङ्कसँगै पश्चिमा मुलुकहरुको सहयोग र सौजन्यतामा फैलाइएको बौद्धिक आतङ्कको परिणामस्वरूप अहिले नागरिक समाज, बौद्धिक जगत, आमसञ्चार माध्यम र ठूलो संख्यामा युवा वर्गमा सनातन धर्म–संस्कृतिप्रतिको आस्था र विश्वास कमजोर भएको छ। धर्म–संस्कृति र परम्परालाई प्रगतिविरोधी, आधुनिकताप्रतिकूल र प्रतिगामी सोच भन्ने मनोविज्ञान बढ्दो छ।
यसैबीच विभिन्न कारणबाट नेपाली राजनीतिमा बढ्दै गएको कम्युनिष्ट वर्चस्व र मार्क्सवादी विचारको प्रभावले पनि धर्म संस्कृतिबारे व्यापक भ्रम कायम भएको छ। ९४ प्रतिशत जनता सनातन धर्ममा विश्वास राख्ने र ९९ प्रतिशत कुनै कुनै धर्ममा आस्था राख्ने आस्तिक जनता भएको देशमा ईश्वरको अस्तित्वको नै स्वीकार नगर्ने र धर्मलाई अफिम ठान्ने नेताहरु निर्वाचित भएर आउने विडम्वना रहेको छ।
माओवादी हिंसा र आतङ्क अहिले अन्त्य भएको छ तर बौद्धिक आतङ्को प्रभाव भने कायम रहेको मात्र होइन, अझै बढ्दै गएको देखिन्छ। यो अवस्थाको अन्त्यका निमित्त सनातन धर्म संस्कृतिमा विश्वास राख्नेहरुका बीचमा एकता र स्पष्टताको आवश्यकता छ। सोचाइमा मात्र होइन, कार्यनीतिमा पनि एकरूपताको खाँचो छ। जनमतको कमी छैन। त्यो जनमतलाई संगठित गरी शक्तिमा रुपान्तरण गर्नु जरूरी छ।
नेपाललाई हिन्दुराष्ट्र बनाउने तथा सनातन धर्म संस्कृति र सभ्यतालाई नेपाली समाज र राष्ट्रनिर्माणको आधार बनाउने रणनीतिक उदेश्यमा धेरै हदसम्म एकमत छ तर त्यो उद्देश्य प्राप्त गर्ने कार्यनीतिकाबारेमा भने स्वयम् हिन्दुराष्ट्र पक्षधरहरुका बीचमा ठूलो मतभेद छ। यो मतभेदको दूरी कम गर्नु नित्तान्त आवश्यक छ।
विद्रोहको बाटो उपयुक्त र व्यावहारिक छैन। १० वर्षे हिसांत्मक विद्रोहको तीतो अनुभव बोकेका नेपाली अर्को विद्रोहको पक्षमा छैनन्। देश र समाजले त्यसलाई धान्न वा स्वीकार गर्न सक्दैन। अर्को बाटो संवैधानिक र प्रजातान्त्रिक परिवर्तनको शान्तिपूर्ण बाटो हो। अहिले हामीले अवलम्वन गरेको यही बाटो हो। यो अत्यन्त कठिन छ तर असंभव छैन।
जुन मुलुकमा १७ हजार मान्छे मार्ने–मराउने अनि विश्वबाट नै अफाप र लुप्त भइसकेको कम्युनिष्ट विचार बोकेर झण्डै दुईतिहाई बहुमत प्राप्त गर्न सक्छन्, त्यहाँ सत्य धर्म र राष्ट्रियता बोकेको विचार र शक्तिले जनताको बलमा प्रजातान्त्रिक माध्यमबाट परिवर्तन स्थापित गर्न सक्दैन भनेर किन हरेश खाने ?
निकटतम छिमेकी भारतको उदाहरणबाट पनि सिक्न सक्छौ। भारतमा हिन्दु राष्ट्रवादी शक्ति भारतीय जनता पार्टी जनताको अभिमतबाट अहिले सत्तामा रहेको छ। उनीहरूले अहिले नै भारतलाई हिन्दुराष्ट्र घोषणा गर्न नसकेता पनि सनातन मूल्य, मान्यता र संस्थाहरूको पुनर्जागरणलाई बल पुर्याएका छन्। संविधानमा स्पष्ट नलेखिए पनि हरेक दृष्टिकोणबाट भारत अहिले हिन्दुराष्ट्र हुने दिशातर्फ उन्मुख छ।
नेपालका हिन्दुराष्ट्र पक्षधर र विरोधी दुवैले भारतको वर्तमान अवस्थालाई उदाहरणका रूपमा लिन सक्दछन्। हिन्दुराष्ट्रका विरोधी तर प्रजातान्त्रिक मान्यतामा बिश्वास गर्ने नेपाली बुद्धिजिवीहरूले भारतको उदाहरणबाट हिन्दुत्व वा हिन्दुराष्ट्रवादको धरातलमा पनि प्रजातन्त्रलाई सुदृढ बनाउन तथा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिँदो रहेछ भन्ने बुझ्न सक्दछन्। हिन्दुराष्ट्रका पक्षधरहरुले संवैधानिक र प्रजातान्त्रिक बाटोबाट पनि हिन्दुराष्ट्र वा हिन्दुत्वलाई स्थापित गर्न सकिँदो रहेछ भन्ने प्रेरणा लिन सक्दछन्।
हामीकहाँ कतिपय हिन्दुराष्ट्रका पक्षधरहरु राप्रपाले वर्तमान संविधानलाई स्वीकार गरेको वा सरकारमा सहभागी भएकोमा खुशी छैनन्। खुशी नभएको मात्र होइन, त्यो नीतिको घोर विरोध गर्दछन्। सिद्धान्त छोडेको, सत्तासँग विचार साटेको आरोप लगाउँछन् तर त्यस्तो धारणा राख्नेसँग अर्को विकल्प पनि छैन। आफू विकल्प निदने अनि अरुले गरिरहेको सत्प्रयास प्रति पनि कुण्ठा राख्ने यो द्वैध मानसिकताबाट सबै हिन्दुराष्ट्र पक्षधर राष्ट्रवादी मुक्त भएर एकढिक्का हुनु अहिले समयको आवश्यकता हो।
फेरि पनि एकपटक भारतको उदाहरण हेरौँ। केही वर्षअगाडि भारतीय जनता पार्टीले कश्मीरको 'पि डि एफ' भन्ने पार्टीसँग सहकार्य गरेर सरकार बनायो। यी दुई पार्टीहरुका बीचमा ठूलो वैचारिक भिन्नता छ। भारतीय जनता पार्टी कश्मीरलाई अन्य राज्यहरूभन्दा विशेष दर्जा दिन भारतीय संविधानमा गरिएको धारा ३७० खारेजीको पक्षमा निरन्तर सात दशकदेखि संघर्ष गर्दै आएको दल हो।
अर्कोतर्फ 'पि डि एफ' उक्त धारालाई कश्मीर अस्तित्वको मेरूदण्ड मान्ने पार्टी हो। उनीहरूको सहकार्य रणनीतिक थियो। सहकार्यबाट कश्मीरमा भाजपाले आफ्नो प्रभाव र संगठन विस्तार ग-यो। पछि संसदमा बहुमत पुग्नेबित्तिकै उक्त धारा ३७० खारेज गरी दियो। यो केवल उदाहरण मात्र हो। यही उदाहरण नै कायम गर्नु पर्छ भन्ने छैन। रणनीति र कार्यनीति समय काल र परिस्थिति अनुसार निर्धारण गर्ने विषय हो भन्न मात्र खोजिएको हो।
हामी कहाँ लक्ष्य, नीति, रणनीति र कार्यनीतिबारे बुझाउन गाह्रो छ। हालै राप्रपाले आगामी राष्ट्रिय सभाको चुनावमा नेकपा(एमाले) को उमेदवारलाई सघाउने निर्णय गर्यो। नेकपा (एमाले) का तर्फबाट सहयोगका निम्ति लिखित रूपमा अनुरोध आयो। राप्रपाबाट सहयोग गर्ने निर्णय भयो। अरु उमेदवार व्यक्तिगत रूपमा योग्य नै हुनुहुन्छ तर उहाँ अरु पनि कम्युनिष्ट पृष्ठभूमिकै हो। उहाँहरुको तर्फबाट कुनै पार्टीले पनि राप्रपासँग स्थागत रूपमा सहयोग मागेन।
कतिपयले हिन्दुवादी राप्रपाले धर्मनिरपेक्षता पक्षधर एमालेलाई भोट दिने निर्णय गरेकोमा आश्चर्य प्रकट गरे। त्यो प्रतिक्रिया अस्वभाविक होइन तर संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति लिएको पार्टीले अन्य दलहरूसँग सहकार्य गर्नु रणनीतिक कदम हो भन्ने बुझ्नुपर्छ। धर्मनिरपेक्षता पक्षधरले हिन्दु राष्ट्रवादी शक्तिसँग सहयोग माग्न हुने, अनि हामीले दिन वा लिन नहुने ! यो हीन र एकाङ्की मानसिकताबाट मुक्त भएर मात्र बलियो राष्ट्रवादी शक्ति बनाउने हाम्रो लक्ष्य पुरा हुन सक्छ।
गत संसदीय चुनावमा राप्रपाले नेपाली कांग्रेस र नेकपा(एमाले) दुवैसँग चुनावी तालमेल गरेको थियो। झापामा राप्रपाको सहयोगबाट नेकपा (एमाले) का केपी ओलीलगायत धेरैले चुनाव जिते। राप्रपाले पनि एमालेबाट सहयोग पायो र संसदमा एक मात्र भएपनि सांसद निर्वाचित गर्न सफल भयो। सहयोग लिन हुने तर सहयोग दिन नहुने मानसिकताबाट हामी मुक्त हुनुपर्छ।
नेपालको राष्ट्रिय राजनीतिमा हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने राप्रपा एक्लो दल हो। यस्तो अवस्थामा अन्य दलहरुसँग सहकार्य र चुनावी तालमेल नगर्ने नीति घातक हुन्छ। जब हामी बलियो हुन्छौँ, त्यसपछि हामीले कसैको मुख ताक्नु पर्दैन। हामी बलियो भएको अवस्थामा संसद मात्र होइन सडकको विकल्प पनि हामी रोज्न सक्छौँ। त्यस अवस्थामा सदन र सडक दुवैको शक्ति प्रयोग गरेर हामी हिन्दुराष्ट्र र राजसंस्था स्थापित गर्न सक्छौँ। राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व, राजसंस्था र उदार अर्थतन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माणको सपना पूरा गर्न सक्छौ।
देश अहिले संकटको चक्रव्युहमा फसेको छ। यसबाट मुक्तिको आधार भनेको विगतका त्रुटी र कमजोरीहरू सच्याएर अघि बढ्ने हो। गणतन्त्र, धर्मनिरपेक्षता र संघियताबरे पुनर्विचार गर्नु समयको तकाजा हो।
(राप्रपा अध्यक्ष थापाले ट्वीटरमा शेयर गर्नुभएको प्रस्तुत आलेख उहाँसँग अनुमति लिएर प्रकाशित गरेका हौँ। – सम्पादक )