वीर अस्पतालमा १७० बेड तयार, अक्सिजन नहुँदा उपचारै भएन

ट्रमा सेन्टरमा बिरामीले प्राण त्यागेको हेरेर बस्नुपरेको छ : चिकित्सक

रातोपाटी

काठमाडाैं

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सुविधासम्पन्न र आकर्षक भवन हालसालै निर्माण सम्पन्न भएको हो। नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ र बिरामीको अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ।

भवन बने पनि सञ्चालनमा आइनसकेको यो भवनमा सरकारले कोभिडबाट संक्रमित बिरामीको उपचार गर्ने घोषणा गर्यो। नयाँ अस्पतालमा दिन र रात गरेर बिरामीका लागि आवश्यक अक्सिजन सप्लाई गर्न मिल्ने पाइपसहितको जडान भइसक्यो। अस्पतालले १ सय ७० बेड तयार पनि गरिसकेको छ।

दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिएको भए पनि सञ्चालनमा भने अझै आउन सकेको छैन। कारण अस्पताललाई आवश्यक अक्सिजन नै छैन।

वीर अस्पतालकी निर्देशक डाक्टर शान्ता सापकोटा यदि अक्सिजनको सुनिश्चितता हुने भए तत्कालै १ सय ७० बेड सञ्चालनमा ल्याउन सकिने बताउँछिन्। उनले भनिन्, ‘हामीले बेड तयार गरिसकेका छौँ। अक्सिजन पाइप फिटिङ भइसकेको छ। अब बाँकी भनेको अक्सिजनको व्यवस्था मात्रै हो। यदि त्यो व्यवस्था गर्न सकेको अवस्थामा हामी तत्कालै सर्जिकल बिल्डिङ पनि सञ्चालनमा ल्याउन सक्छौँ।’

प्रकाशित मिति: : 2021-05-15 11:30:00

प्रतिकृया दिनुहोस्