रतुवामाईमा ३० जनासम्म कोभिडका विरामीको उपचार, डाक्टर र स्वास्थ्यकर्मी थपिँदै 

मोरङको रतुवामाई नगरपालिकाले झुर्कियामा रहेको नगर अस्पतालमा १५ बेडको कोभिड अस्पतालमा आजदेखी थप १५ जना विरामीलाई राख्ने व्यवस्था गरिएको छ।

कोभिड १९ को नयाँ भेरियन्सको संक्रमण बढ्दै गएपछि नगरबासीलाई सुरक्षित राख्न झुर्कियामा रहेको नगर अस्पतालमा गत वर्ष नै १५ बेडको कोभिड अस्पताल बनाईएको थियो।

हाल दोश्रो भेरियन्सको जोखिम बढ्दै गएपछि थप १५ जना विरामीलाई राख्ने व्यवस्था गरिएको नगर प्रमुख रविन राईले बताए।

पछिल्लो समय रतुवामाई नगरपालिकामा पनि कोभिड संक्रमित बढ्दै गएका छन्। सो अस्पतालमा अक्सिजन सहितको सेवा रहेको छ। सो अस्पतालमा हाल एक जना डाक्टरसहित ५ जना नर्स र ७ जना स्वास्थ्यकर्मी रहेका छन्।

आगामी शनिवारदेखी थप एक जना डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि थप हुने नगर प्रमुखको सचिवालयले जनाएको छ। सो अस्पतालमा उपचार हुन नसके नगरपालिकाकै एम्बुलेन्स मार्फत निशुल्क रुपमा अन्य अस्पताल लैजाने व्यवस्था पनि नगरपालिकाले गरेको छ।

नगरपालिकाले हाल दुई वटा एम्बुलेन्स र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृतको सवारी साधनलाई तयारी अवस्थामा राखेको छ। नगरपालिकामा कोभिडको संक्रमण फैलिन नदिन नगरपालिकाले अत्यावश्यक बाहेक बजार पसल सबै बन्द गरेको छ।

नगरपालिका कार्यालय र मातहतका सबै कार्यालयहरु पनि अर्को सुचना नभएसम्मका बन्द रहेका छन्। कोभिड १९ को शंका लागेमा झुर्कियाको नगर अस्पतालमा पिसिआर र एन्टिजेन परीक्षणको पनि व्यवस्था मिलाईएको नगरपालिका कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-13 17:35:00

प्रतिकृया दिनुहोस्