सरकारले ४७२ रुपैयाँमा ल्याएको खोप अब चार गुणा बढी मूल्यमा बजारमा बेच्न हुकमलाई अनुमति

सरकारले यसअघि चार डलरमा ल्याएको खोप चार गुणा बढी मूल्यमा बेच्ने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ । खोप ल्याउन अवरोध गरेको भनेर दण्डित हुनुपर्ने कम्पनी हुकमलाई पुरस्कृत गर्दै सरकारले नै चार गुणा बढी मूल्यमा खोप बेच्न अनुमति दिएको छ । तर, सोही मूल्यमा आउने भए पनि चिनियाँ खोपलाई भने सरकारले अनुमति दिएको छैन । 

सरकारले भारतको सेरम इन्स्टिच्युट अफ लाइफ साइन्सबाट प्रतिडोज चार डलर अर्थात् चार सय ७२ रुपैयाँमा खोप ल्याएको थियो । तर, अब भने जनताबाट प्रतिडोज १७ सय नौ रुपैयाँ शुल्क उठाउन हुकमले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएको छ ।

सरकारले सस्तोमा ल्याएर जनतालाई निःशुल्क दिन सकिने खोप विभिन्न बहानामा किन रोकिएको थियो ? जवाफ आएको छ– एजेन्टलाई नाफा दिलाउन । अब सेरमकै दुई डोजका लागि नेपाली नागरिकले निजी कम्पनीलाई ३४ सय १८ रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सेरमको कोभिसिल्डसँगै भारत बायोटेकको कोभ्याक्सिनलाई पनि व्यावसायिक प्रयोजनका लागि विभागले अनुमति दिएको छ ।  कोभ्याक्सिन ल्याउन इब्राल्ड फर्मास्युटिकल्सले अनुमति पाएको छ । 

कोभ्याक्सिनको मूल्य एकै डोजको २६ सय छ भने दुई डोज लगाउँदा ५२ सय रुपैयाँ पर्नेछ । स्पुतनिक ‘भी’को मूल्य दुई डोजको मूल्य ३८ सय ८५ रुपैयाँ कायम गरिएको छ । तर, यो भ्याक्सिन बेच्न अनुमति प्रदान भएको छैन । 

प्रकाशित मिति: : 2021-05-07 05:58:00

प्रतिकृया दिनुहोस्