कोरोना भाइरस संक्रमण बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ।
यतिबेला अत्यावश्यक बाहेक सबै काम ठप्प छन्। मानिस घर भित्रै बस्न बाध्य छन्। नबसी पनि साध्य छैन।
निषेधाज्ञासँगै धेरैको रोजगारी गुमेको छ। रोजगारी गुमेसँगै दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरु थप समस्यामा परेका छन्। आम्दानीको स्रोत नभएपछि मानिस सडक पेटीमा खानाको पर्खाइमा बस्नुपर्ने अवस्था आउन थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीका नाममा सम्बोधनका क्रममा निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत रहेको बताए। प्रधानमन्त्री ओलीले सम्बोधन गरेको भिडियो प्रसारण हुँदै गर्दा रामेछापका दुर्गा श्रेष्ठ भोको पेट दुई घण्टा हिँडेर काभ्रेको साँगा आइपुगेका थिए। जहाँ हामीले प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गरिरहेको भिडियो मोबाइलमा हेदैँ थियौं।
त्यतिबेलै झोला बोकेर हस्याङ फस्याङ गर्दै बनेपा तर्फ लागिरहेका एक जनालाई हामीले हामीले हाम्रो सवारी रोकेर सोध्यौं, ‘दाजु कता हिँड्नु भएको ?’
थकित मुद्रामा देखिने उनले पुलुक्क हामी तिर हेर्दै भने– ‘काम गरेर फर्केको।’
रामेछाप घर भई काभ्रेको बनेपामा बस्दै आएका दुर्गा श्रेष्ठ बिहान दुई घण्टा हिँडेर साँगाको नमुना बस्तीमा खानेपानी ट्यांकी बनाउने काम गरेर फर्किदै रहेछन्। निषेधाज्ञा जारी हुनअघि उनी गाडी चढेर काम गर्न जान्थे। निषेधाज्ञापछि हिँड्दै जाने–आउने गर्छन्। मजदुरी गर्नकै लागि उनी बिहान–साँझ चार घण्टा पैदल हिँड्नु पर्छ।
‘कोरोना भाइरस सर्ला भन्ने डर लाग्दैन? केही दिन काम नगर्दा हुँदैन दाई?', हामीले प्रश्न सोधेर नसक्दै उनले प्रतिप्रश्न गरी हाले–‘भोक ठूलो कि भोजन?'
उनी रोकिएनन्–‘कोठा भाडा तिर्नुपर्छ, बालबच्चा पाल्नपर्छ, के खाने भन्ने नै पिर छ। कोरोनाको डर मान्यो भने भोकले मरिएला भन्ने डर छ, ढुंगा माटो खानु भएन काम गर्न जानै पर्याे नी।’
उनी रामेछापबाट बनेपा आएर ज्याला मजदुरी गर्न लागेको ७ वर्ष भयो। उनले यसरी नै ४ जनाको परिवार पाल्दै आएका छन्। उनको काम लामो समयसम्म निरन्तर चलिरहेको थियो। जब कोरोना संक्रमण फैलियो उनको काम रोकिन थाल्यो। उनलाई अहिले काम चलेन भने जीवन कसरी चलाउने भन्ने पिर छ।
गत वर्ष लकडाउन (बन्दाबन्दी) हुँदा उनी ३ महिना घरभित्रै बसे। ऋण खोजेर परिवारको खर्च चलाए। तर, अहिलेको निषेधाज्ञामा भने उनी काम चलेसम्म घर नबस्ने बताउँछन्। भन्छन्, ‘पोहोर कोरोनाको डर मानेर घर बसे। खान लाउन धेरै गाह्रो भयो। अहिले त काम चल्यो भने घर बस्दिन्, खान नपाई भोकले भन्दा रोगले मर्नु वेश'
उनलाई सरकारले सहयोग गर्ला भन्ने लाग्दैन। सरकारप्रति कुनै विश्वास छैन। ‘हुन त सरकारले रोग लाग्ला भनेर घरबाहिर नहिँड्न भनेको होला। तर, सरकारले सहयोग गर्दैन। खानको जोहो गर्नको लागि त हिँड्नै पर्यो।', उनी थाहा पाएजस्ताे गर्छन्।
लाखौं मजदुरका प्रतिनिधि पात्र हुन्, श्रेष्ठ।
कोरोना संक्रमण नियन्त्रणको लागि निषेधाज्ञा गरेपनि मजदुर लगायत विपन्न परिवारको लागि सरकारले कुनै योजना ल्याएको छैन्। यसतर्फ पनि सरकारको ध्यान जान जरुरी छ।