अन्तर्राष्ट्रिय श्रमिक दिवस: भाषणमा सम्मान, व्यवहारमा बेवास्ता

रुद्र खड्का

विगतका वर्षझै यस वर्ष पनि शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले श्रमिक हितको पक्षमा शुभकामना सन्देश जारी गरे। दोस्रो लहरको कोरोना महामारीका कारण भौतिक रूपमा श्रमिक दिवससँग सम्बन्धित कार्यक्रम आयोजना नगरिए पनि सन्देशमार्फत सरोकारवालाले श्रमिकलाई उच्च सम्मान व्यक्त गरे।  

तर श्रमिकको वास्तविक जीवन झनै कष्टकर हुन पुगेकातर्फ भने धेरैको ध्यान गएन। कोरोना महामारीपछि श्रम गरेर गुजारा गर्नेको अवस्था थप दयनीय बन्न पुगेको छ। भाषणमा श्रमिकलाई उच्च सम्मान गरिए पनि श्रमिकको दयनीय अवस्था सुधार गर्न कुनै पनि नयाँ नीति ल्याइएको छैन।  

कोरोना महामारीपछि अमेरिका लगायत विश्वका कैयौं मुलुकले थप समस्या हुन नदिन रोजगारी गुमाएका वा पारिश्रमिक कटौती भएका श्रमिकको बैंक खातामा राहत जम्मा गरिदिए तर नेपालमा भने सरकारले त्यस्तो कुनै सुविधा उपलब्ध गराएन।  

पहिलो लहरको कोरोना महामारी बेला सरकारले समस्यामा परेकालाई राहत वितरण गरेको घोषणा गरे पनि पहुँचवाला र कार्यकर्ताले मात्र त्यस्तो सुविधा पाएको श्रमिकले गुनासो गर्दै आएका छन्। कोरोना महामारीपछि कैयौं श्रमिकलाई दैनिक गुजारा चलाउन कठिन भए पनि सरकारले बेरोजगारलाई रोजगारी दिने कार्यक्रम ल्याउन सकेको छैन।  

प्रकाशित मिति: : 2021-05-02 09:19:00

प्रतिकृया दिनुहोस्