म्यान्मार सुरक्षा–फौजको नियमित आक्रमणले करेन प्रान्तको जनजीवन बिग्रँदै गइरहेको छ।
करेनमा बसोबास गर्ने जनजाती समुदाय हर–दिन हवाई हमलाको चपेटामा छन्। लाग्छ– उनीहरू जिउँदै मरिरहेका छन्। समय–समयमा मृत्यु कुरिरहेका छन्।
दिनहुँ हुने विद्रोही समूह र सरकारी सेनाको मुठभेडले आँखै वरिपरी बन्दुकका गोली बाहेक अरु देख्दैनन्– करेनबासी। उनीहरू तीन दशकदेखि शान्तिका साथ बाँचेका छैनन्। यद्यपि, म्यान्मार सैन्य ‘कू’यता झन्–झन् अवस्था भयावह र त्रासपूर्ण छ।
देखिएका तस्वीरहरू शुक्रबार खिचिएका हुन्। युद्ध मैदानमा उजाड मनका साथ बाटो लागिरहेका जानजाती भाग्दै छन्। गाउँ छाडेर शरण पर्न सीमा पार गरिरहेका छन्।
पछिल्लो सातामा मात्रै उनीहरूले दुई दर्जनभन्दा बढी हवाई हमला भोगिसकेका छन्। हिंसाबाट बच्न बाध्य भएर थाइल्याण्ड लागेका उनीहरूको पछिल्लो अवस्था निकै दयनीय छ।
हवाई आक्रमणपछि तीन सय बढी स्थानीय ज्यान जोगाउन थाइल्याण्ड सीमा क्षेत्रमा पुगेका छन्।
सलुविन नदीको शिविर नजिक बसिरेहका नागरिक लक्षित आक्रमण लगतै स्थानीयहरू जंगल क्षेत्रमा पुगेका छन् भने कोही थाई सीमा पार गरिरहेका छन्।
जंगलको बाटो। काँधमा झोला। थाप्लामा भारी। अघिपछि बालबच्चा। यसरी दुःखै-दुःखको समय कुल्चेर हिँड्नु करेनबासीको बाध्यता बनेको छ। बस्, उनीहरू बाँच्न चाहन्छन्।