असिनाले सक्यो किसानको करोडौं मूल्यको तरकारी, स्थानीय सरकारसँग क्षतिपूर्ति दिन अपील

भरत केसी

राेल्पा

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ छापमा एक हुल मानिस जम्मा भएर शुक्रबार विहानै छलफल जुटिरहेका थिए।

कतिले वडा–पालिकामा सम्पर्क गरिरहेका थिए भने कतिले गाउँपालिकामा र काेहीँ–काेहीँ पत्रकारलाई फोनमार्फत् बाली बोटको अनुगमन गरिदिन आउन अनुरोध गरिरहेका थिए। किसान जयबहादुर बस्नेतले ज्ञापन–पत्र तयार गरेर उपस्थित किसानलाई सुनाईरहेका थिए।

क्षतिपूर्ति पाउनेमा किसान त्यति ढुक्क नभएपनि  किसान माधव रेउले  सरकारले किसानलाई यतिबेला सहयोग गर्नेमा आशा व्यक्त गर्दै थिए। अन्त्यमा सबैले सहयोग याचनाको लागि स्थानीय सरकारमा जाने निधो गरे। यो छलफल बिहिबार आएको असिनाले निम्त्याएको विनाश केन्द्रित थियो।

बिहिबार पानीसँगै परेको असिनाले रोल्पाको दक्षिणी क्षेत्र रुन्टीगढी गाउँपालिका वडा नं ६ का किसानले लगाएको तरकारी बाली नष्ट गरेपछि किसान चिन्तित छन्।

वडा नं ६ स्थित सापडाँडा, छाप, झालवन, ओखरपाटा, बोरिबाङका करिब ७० घरधुरीले लगाएको करोडौँ मूल्यको टमाटर, खुर्सानी, गोभी, सीमीलगायतका तरकारी असिनाले सखाप बनाएपछि किसानहरु दुखी मात्र हैन लगानीको ऋणको भारमा समेत परेका छन्।

गत वर्षमात्र टमाटरले प्रति किलो ८५ रुपैयाँसम्म भाउ पाएपछि यसवर्ष सबै किसानले अझ लगानी बढाएर तरकारी खेती गरेका थिए।

फलदिने बेला तरकारी बाली नाश भएपछी किसानहरुको विचल्ली भएको छ। बोरिवाङका किसान पल बहादुर बस्नेतको मात्र करिब पाँच हजार टमाटर बोट, पन्ध्र सय खुर्सानीका बोट असिनाले नष्ट गरेकोमा चिन्ता त छँदैछ बिउबिजन औषधि मात्र किनेको असी हजार रुपैयाँ  एग्रोभेटलाई कसरी तिर्ने भन्ने पिरलो परेको बताए। उनी भन्छन्,' किसानको पसिनालाई असिना लग्यो।'

पोहरसाल १५  लाख बराबरको टमाटर बेचेका झालबनका किसान वीर बहादुर चलाउनेलाई यसवर्ष खेती चौपट भएकोमा ठुलो पिर परेको छ। उनी भन्छन्, 'पोहर १ लाख ९२ हजारको एग्रोभेटबाट बीउ र औषधि लिएको थिए खर्च कटाएर थोरै बचत हुन्छ यसवर्ष असिनाले सबै चौपट्टै बनायो।'

अर्का किसान जित बहादुर रावतले यसवर्ष आफुहरुले लगाएको तरकारीले राम्रो भाउ पाउने आशा गरेको तर असिनाले सबै खत्तम गरेपछि अब सरकारलाई सुनाउँने र देखाउने बताए। सरकारले गर्न खोज्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले अप्ठ्यारोमा सरकारले हेर्नेमा विश्वास व्यक्त गरे। 

त्यसैगरी विदेशमा केही महिना बसेर आफ्नै ठाउँमा दुःख– गर्ने संकल्प गरी लाखौं लगानीमा तरकारी खेतीमा छापका किसान शान्तराज रेउले तरकारीमा असिनाले चोट लागिसकेकोले कुहिएर बोट र फल काम नलाग्ने बताउँछन्।

बिहान उठेदेखि रात पर्ने बेलासम्म स्याहार गरेको तरकारीलाई असिनाले लगेपछि विदेशै ठिक भन्ने भैसकेको उनको आशय थियो।

यस क्षेत्रका ९० प्रतिशतभन्दा बढी युवाहरु तरकारी खेतीमै निर्भर रहेका छन्।

जिल्लामै तरकारीको पकेट क्षेत्रका रुपमा रहेको यस क्षेत्रका किसानहरुले लगाएको तरकारी बाली असिनाले विचल्ली बनाएपछि स्थानीय सरकारलाई क्षतिपूर्तिको लागि सहयोगको अपील गरेका छन्।



बिरामी बोक्ने एम्बुलेन्सले रोल्पामा नून ओसार्छ 

जलजलामा ढकमक्क लालीगुराँस [फाेटाे फिचर]

जापानको सुख सयल त्यागेर थबाङीको उपचारमा खटिएका डाक्टर 

राजा हेर्ने रहरः तीन दिन हिँडेर काठमाडौंसम्म

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

प्रकाशित मिति: : 2021-04-30 17:19:00

प्रतिकृया दिनुहोस्