राजा हेर्ने रहरः तीन दिन हिँडेर काठमाडौंसम्म

दिलिप कुवँर

सिन्धुपाल्चोक

२०१५ साल फागुन १० गते।

उनी सानै थिए। बचपनको रहर। बाबु जहाँ जान्छन्, पछ्याउने बानी।

दुईवटा टाँक चुडिएको कमिज। दाहिने गोजी च्यातिएको बेलीबटन पाइन्ट। हिँड्दा प्याट–प्याट पड्किने थोत्रो हात्तीछाप चप्पल लगाएर चिटिक्क परे- तुलाधर आचार्य।

आमाले पनि तोरीको तेल लगाएर जुल्पी लरक्क लर्काइदिइन्। उनी फुरुङ्ङ भए, बाबुसँग काठमाडौँ जान पाइने भो भनेर। उनलाई खूबै रहर थियो- काठमाडौँ जाने। सुनेको काठमाडौँ हेर्ने। र, काठमाडौँ घुम्ने।

तत्कालिन राजा महेन्द्रद्वारा फागुन १४ गते जारी हुँदै थियो– नेपाल अधिराज्यको संविधान २०१५।

राजदरबारमा भव्य समारोहको आयोजना थियो। उक्त समारोहमा भाग लिन देशका विभिन्न ठाउँबाट 'भद्रभलाद्मी'र जिमिदारहरु उपस्थित हुँदै थिए। त्यसकै लागि तुलाधरका पिता गोपीनाथ आचार्य पनि काठमाडौं जाँदै थिए।

उनको घर पहाडको गाउँमा थियो– सिन्धुपाल्चोकको ठोकर्पा। त्यस बेला ठोकर्पामा सडक थिएन। सवारी साधन हुँदैनथ्यो। काठमाडौँ पुग्न तीन दिन लाग्थ्यो।

अन्ततः राजालाई हेर्ने पिता गोपीनाथको सपना र तुलाधरको रहरले उनीहरु झोलामा सातु–सामल कसेर ओरोलो लागे। तीन दिन हिँडिसकेपछि जसोतसो भक्तपुर पुगे।

तुलाधर १४ वर्षको उमेरमा उसबेला राजधानी जाँदाको यात्रा सम्झँदै सुनाउँछन्, 'तीन दिनसम्म हिँड्दा त म फतक्कै गलिसक्याथेँ। त्यसरी कहिल्यै हिँडेको थिइनँ। राजालाई हेर्ने र काठमाडौँ घुम्ने रहरले त्यत्रो हिँडियो।'

राजा महेन्द्रले संविधान जारी गर्दा उनीहरु नारायणहिटी राजदरबारभित्रको विशेष समारोहमै सहभागी भए। त्यो समय तुलाधर र उनका पिताजीले राजदरबारमा करिब ६५ मिटर टाढाबाट राजा महेन्द्रलाई पहिलो पटक देखे।

राजालाई साक्षात देखेपछि उनीहरु दङ्ग !  शीरमा ढाका टोपी। आङमा दौरा–सुरुवाल। बेलायती छालाको टिलिक्क टल्किएको कालो जुत्ता।

राजा त साच्चिकै राजाजस्तो लाग्यो उनलाई। राजा देखेमा उनलाई कम्ति मजा लागेन। त्यो दुर्लभ क्षणलाई तुलाधर कहिल्यै बिर्सन्नन्।

राजा देख्न पाएको ६३ वर्षपछि पनि उनी उत्साहित बन्दै सुनाउँछन्, 'थुप्रै मानिस थिए। नजिकबाट देख्न सम्भव भएन। ६०/६५ मिटर टाढाबाट भए पनि राजाको दर्शन गरियो।'

उनी यसरी बताउँछन्, मानौँ त्यही बेला गाउँ फर्केर राजाको बारे त्यहाँका मान्छेलाई सुनाउँदै छन्।

पशुपतिशमशेरसँगको किस्सा 

२०४८ साल बैशाख २९ गतेको संसदीय चुनाव हुँदै थियो।

बैशाखको महिना। भर्खरै बहुदल आएपछिकै पहिलो चुनाव।

पूर्वपञ्चहरुको पार्टी राप्रपा भर्खर गठन भएको थियो– राप्रपा थापा र राप्रपा चन्दका नाममा। पञ्चायतकालमा पनि त्यही क्षेत्रबाट चुनाव जितेर मन्त्रीसमेत भएका पशुपतिशमशेर राप्रपा (चन्द)बाट त्यहाँबाट उठेका थिए।

पशुपति भोट माग्दै उनको गाउँ (ठोकर्पा) पुगेका थिए। उनीसँग अन्य सहयोगी र कार्यकर्ताहरु पनि थिए। त्यस दिन पशुपतिकाे बास ठोकर्पामै हुने भयो।

तुलाधार पनि गाउँका हर्ताकर्ता। गाउँमा न कुनै सुविधासम्पन्न घर थियो न होटल नै हुने भयो।

पशुपतिलाई बास बसाउने कहाँ ? गाउँका अगुवा तुलाधरसँग बास बसाउने विकल्पै थिएन। अन्ततः तुलाधरले आफ्नै घरमा पशुपतिशमशेरलाई बास बसाउने निधो गरे।

घरबाहिर लटरम्मअम्बा फलेको थियो। त्यो पनि खुवाए। उनी सम्झन्छन्, 'राणाजस्तो मान्छे। मोहनशमशेरको नाति, महाराज चन्द्रशमशेरको पनाति ! विजयशमशेरको दरबारमा चाँदीको चम्चाले  खाएर हुर्केको मान्छे। बाँदरलड्ने भीरमा  कहाँ बसालौँ भन्ने भयो। अनि आफ्नै घरमा लगेँ।'

पशुपतिसँग गएका डफ्फालाई बास दिँदाको अनुभव सुनाए,  'त्यो दिन एकै रातमा एक मुरी चामल पकाएर खुवाएँ। एउटा खसी पनि काटेँ। बिहेको भतेरभन्दा कम थिएन।'

अर्को दिन जबरा गाउँबाट फर्के। त्यो बसाइले पशुपतिशमशेरसँग उनको सम्बन्ध मज्जाले गाँसियो।

त्यसको केही महिनापछि तुलाधर पनि काम विशेषले काठमाडौँ गए। समय मिलाएर पशुपतिको घर– महाराजगञ्जसम्म पनि गए। त्यतिबेला पशुपतिले पनि न्यानो स्वागत गर्दै चिया खुवाएका थिए। जसको स्वाद उनको मुखमा अझै झुण्डिरहेको छ।

उनी सम्झन्छन्, 'पशुपति राजाले चिनी नहालेको चिया खानुहुँदो रहेछ, सधैँ। मैले फेरि जीवनमा कहिल्यै चिनी नहालेको खाएको थिइनँ। आफू भने दुई चम्चा चिनी हालेर मात्र चिया खान्थेँ। पहिलो पटक निसालो (चिनीबिनाको) चिया त्यहीँ खाएँ।'

पशुपतिशमशेरकै निवासमा तुलाधरले एक–डेढ घण्टा बातचित गरेर बिताए तर दिउँसो खाना खाने समयमा भने पशुपतिशमशेरले तुलाधरको हातमा २० रुपैयाँ थम्याइदिए र बाटो लागे।

सम्झँदै तुलाधर भन्छन्, 'उहाँ हतारमा हुनुहुन्थ्यो। सँगै खाना खान सम्भव भएन। मेरो हातमा २० रुप्पेँ राख्दिनु भो।' उनी बुढ्यौली पारामा थप्छन्, 'मलाई अफ्ठ्यारो त लागेको थियो, पैसा राँखुम् कि नराँखुम् भनेर। जे होला-होला भनेर गोजीमा राखेँ।'

बाठा तुलाधर

तुलाधरलाई राजनीतिको खूब चासो छ तर राजनीति गर्न भने उनलाई पटक्कै मन छैन।

उनी जन्मिएका २००१ सालमा। त्यसयता देशमा भएका विभिन्न राजनीति घटनाक्रमसँग उनी प्राय: जानकार नै छन्।

उनी ठट्यौली पारामा सुनाउँछन्, 'गाउँको घरखेत बेचेर अब पो राजनीति गरिदिऊँ कि क्या हो!'

त्यसो त उनले आजसम्म भए–गरेका चुनावमा कहिल्यै एउटै पार्टीलाई भोट हालेनन्। सबैलाई दिन्छु भनेर मख्ख पार्छन् तर मनले खाएकोलाई दिन्छन्।

उनले पार्टीभन्दा पनि चिनेको व्यक्तिलाई भोट हाले। हाँस्दै उनी भन्छन्, 'अन्धोको ठाउँमा अन्धो, आँखेको ठाउँमा आँखे। गाउँका सबैले सल्लाह गरेर भोट हाल्छन्। आफूले नहालौF कसरी? हा हा !!'

उनले कांग्रेसमा भोट हाले। एमालेमा पनि भोट हाले। माओवादीमा पनि छाडेनन्, भोट हाल्न।

संयोग पनि गज्जबको ! उनले जसलाई भोट हाल्छन्, उसैले जितेको छ सधैँ।

उनी देख्दामा पनि बाठा ! काममा झन् बाठा !!



विदेशीकाे भारी बाेकेर मालिक बनेका नाेर्बु

दिनमा तीनवटा रेडबुल पिउने सय बर्षका बाजे

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

प्रकाशित मिति: : 2021-04-30 07:29:00

प्रतिकृया दिनुहोस्