
सन्तोष बराइली
उनी एकाबिहान ४ बजे उठिसक्छन्। ओछ्यान मै पल्टिएर एकछिन भगवानको नाम लिन्छन् र आफूलाई स्वर्ग जाने मार्ग प्रसस्त गर्न आग्रह गर्छन। ७ बजे उनी पल्टिने खाँटमा चियाको प्याला आइसकेको हुन्छ।
केहीछिनपछि नुहाउन आँगनमा निस्किन्छन्। १० बजे उनको लागि खाना तयार भइसकेको हुन्छ। यसपछि केही समय आराम गर्छन। दिउँसो घिउँ लगाएको गहुँको रोटी दुईवटा खान्छन्, त्यो पनि एक गिलास गाई वा भैसीको शुद्ध दुधमा मिलाएर।
राती पनि दुई वटा रोटी र एक गिलास दुध पिउँछन्। उनको सुत्ने टाइम हुन्छ, रातीको ११ बजे। यसबीच उनीसँग कुराकानी गर्नेको हुल लागेको हुन्छ, उनको घरमा।
नन्दी यादव, नेपाली नागरिकतामा उनको जन्ममिति १९७८ दर्ता छ। अर्थात उनी सय वर्ष प्रवेश गरिसकेका छन्। सिरहा सदरमुकामदेखि करिब १८ किलोमिटर दक्षिण लागेपछि आइपुग्छ, तेन्दुवापट्टी। यही गाउँका सबैभन्दा बुज्रुक नन्दी यादवको दिनचर्या हो, यो। यसबाहेक उनी तन्दुरुस्त रहन दिनमा तीनवटा रेडबुल घुट्काउँछन्।
दिनहुँ उनी पनाती पुस्तासँग कुराकानी गरिरहेका हुन्छन्। उनको घरमा पाँच पुस्ता चलिरहेको छ। त्यसैले उनी आफ्नो वास्तविक उमेर १ सय ३६ वर्ष पुगेको दावी गर्छन। २०४४ सालमा गाउँमा नागरिकता बनाउन आएको टोलीले उमेर लेख्दा गडबडी गरेको आरोप छ उनको।
उनको छोराकै उमेर ८० नाघिसकेको छ। ७ छोरी र एक छोराका पिता १० वर्षअघि गाउँघरमा ठमठम हिँडेको भेटिन्थे। अहिले हिँडडुल गर्न छोडेका छन्। उनलाई ट्वालेट लैजानेदेखि सरसफाई गराउने काम नाति–पानाति पुस्ताले गर्छ। उनको ७ छोरीमध्ये चार जनाको निधन भइसकेको छ।
उनको दाँत फुस्केको पनि १३–१४ वर्ष बितिसकेको छ। तर पनि उनी आँखाले टाढासम्म हेर्न सक्छन्। उनी आँखा तेजिलो हुनुको राज हरियो सागसब्जीलाई दिन्छन्। ‘दैनिक नटुटाई अहिले पनि सागसब्जी खान्छुु,’ हालै तेन्दुवापट्टीस्थित घरमा भेटिएका नन्दीले भने।
नन्दीको बुवाको नाम सुभलाल यादव हो। आमा खट्टी देवी। उनको पिता त्यहाँका जिमिनदार थिए। ३३ विघा त जग्गा नै थियो। खेतीपाती मुख्य पेशा हो। उनीभन्दा माथि एक दिदी थिइन। उनीपछि दुई भाई र एक बहिनी जन्मिए। अहिले ती सबैको निधन भइसकेको छ। उनी ‘जय सियाराम’ भनेर दैनिक भगवानसँग यही प्रार्थना गरिरहेका छन्– आफूबाट बिछोड भएका परिवार र श्रीमतीसँग अर्के लोकमा भेट्ने।
उनले २० वर्षको उमेरमा हरिपुर निवासी भुटनी देवीसँग विवाह गरेका थिए। ३० वर्षअघि भुटनी देवीको पनि निधन भइसकेको छ।
उनी जन्मिदा नेपालमा राजा त्रिभुवनको राज चल्थ्यो। स्थानीय प्रशासन उनकै घरबाट। राणा शाषनविरूद्धको आन्दोलनमा उनलाई पनि राजनीतिक चस्का नलागेको होइन। उनी नेपाली कांग्रेसको चार तारे झण्डा बोकेर सिरहा बजार, राजविराज र विराटनगरसम्मै पुगेका थिए। त्यतिबेला नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला र गणेशमान सिंहलाई भेटेको अहिले पनि याद छ, उनलाई।
‘त्यतिबेला सवारीको कुनै साधन थिएन। हात्ति र घोडा चढेर विराटनगरसम्म पुगेको छु,’ उनले बताए।
पञ्चायतकालमा उनी राजा वीरेन्द्रलाई भेट्न काठमाडौं पनि पुगेका थिए। उनलाई वीरेन्द्रले भेट दिएका थिए। ‘राजदरबारमा गएर राजा वीरेन्द्रलाई भेटेको मलाई याद छ,’ उनी भन्छन्।
उनी जन्मिदा गाउँमा पढ्ने स्कुल थिएन। त्यसैले उनले औपचारिक शिक्षा कहिल्यै लिन पाएनन्। तर, लेखपढ गर्न भने उनलाई आउँछ। पहिले गाउँभरि गाँजाको खेती हुन्थ्यो। उनी कुनै बेला अम्मली भएका थिए। तर, अहिले छोडिसके, घाँटीमा कण्ठी बाँधेका छन्।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया