ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाख नजिक

ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट यहाँका तीन हजार १६५ नागरिकको मृत्यु भएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका ती नागरिकको एकै दिनमा ज्यान गएको हो। 

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाखनजिक पुगेको छ। प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ। 

त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन्। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन्। 

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ। साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ। त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन्।

यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन्। उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन्। रासस 

प्रकाशित मिति: : 2021-04-29 12:51:00

प्रतिकृया दिनुहोस्