दिल्लीमा भयावह भन्दै कोरोना : पार्किङ्ग र पार्कमा मृतकको अन्त्येष्टि गर्ने तयारी

बिएल संवाददाता

नयाँ दिल्ली
Adnan Abidi/Reuters
Adnan Abidi/Reuters

कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको सुनामी आएसँगै भारतको राजधानी दिल्लीस्थित शमशान घाटमा दाहसंस्कारका लागि ठाउँको अभाव हुँदै गएको छ।

दिल्लीमा अब पार्किङ्ग, पार्क तथा खाली मैदानलाई अन्त्येष्टि स्थलका रुपमा प्रयोग गरिनुपर्ने माग उठिरहेको छ। 

एउटा शवलाई पूर्ण रुपमा जल्न ६ घण्टा लाग्ने गर्दछ र मानिसले आफ्ना परिवारजनको अन्तिम संस्कारका लागि चार घण्टासम्म प्रतिक्षा गरिरहनुपरेको छ।

यो अवस्थालाई मध्यनजर गर्दै दिल्लीमा अस्थायी शवदाह गृह बनाउन थालिएको छ। सोमबार मात्रै दिल्लीमा ३८० जनाको मृत्यु भएको छ।

मेडिकल अक्सिजन, आइसियु बेड तथा जीवन रक्षक औषधिको अभाव भइरहँदा मृतकको संख्या पनि तिव्र बढी रहेको छ। बीबीसीका अनुसार शवदाह गृहका कर्मचारी दिन रात नभनी काम गरिरहेका छन्।

आफ्नो परिवारजनको दाह संस्कारका लागि आएका शोक सन्तप्त परिवारलाई पनि उनीहरु सहयोग गरिरहेका छन्। यस्तो स्थिति भारतका अन्य शहरमा पनि हुन सक्ने जनाइएको छ। 

दिल्लीको सराय काले खान शवदाहस्थलमा शवको अन्तिम संस्कारका लागि २७ नयाँ प्लेटफर्म बनाइएको छ। यो नजिकैको पार्कमा ८० प्लेटफर्म बनाइएको छ। दिल्ली नगर नियम यमुनाको किनारमा घाट बनाउनका लागि ठाउँको खोजी भइरहेको छ।

शराय काले खानमा पहिला मात्र २२ शव एकैपटक जलाउन सकिने व्यवस्था थियो। यो शवदाह स्थलका एक कर्मचारीले आफूले बिहान सबेरैदेखि मध्यरातसम्म लगातार काम गरिरहेको बताए।

यता, गाजीपुर शवदाह स्थलको पार्किङ्ग क्षेत्रमा २० अतिरिक्त प्लेटफर्म बनाइएको छ। त्यहाँ अझै थप प्लेटफर्म बनाउन आवश्क भइसकेको एक कर्मचारीले बताए। 

दिल्लीको अन्य शमशानस्थलको हालत पनि गम्भीर छ। कोरोना संकटसँग लडिरहेका मानिसहरुको मद्दत गर्ने गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलेपमेन्टका प्रमुख सुनिल कुमार अलेदियाले शहरमा रहेका शमशानको सुविधा बिस्तारका लागि ठाउँ अभाव रहेको बताए।

उनका अनुसार शवदाह स्थलको माग अत्यधिक बढेको छ। सामाजिक सञ्जालमा सहयोगको अपिलका लागि गरिएका आग्रहहरु छरपष्ट देखिन्छन्। कसैले अक्सिजन सिलिण्डरका लागि त कसैले आइसियु बेड तथा कसैले औषधिका लागि गुहार गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ६० हजार संक्रमित थपिएका छन्।

सो अवधिमा कोरोनबाट ३२ सय ९३ जनाको ज्यान गएको छ। योसँगै मृतकको कुल संख्या दुई लाख ११८ पुगेको छ।

तर विज्ञहरुले भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको वास्तविक संख्या सरकारी तथ्यांक भन्दा निकै धेरै हुन सक्ने आकलन गरिएको छ। 

भारतमा कोरोना संक्रमणका कारण सन् २०२० को मार्च २१ मा कर्नाटकमा पहिलो मृत्यु भएको थियो। पाँच महिनापछि ज्यान गुमाउनेको संख्या ५० हजार पुगेको थियो।

त्यसको दुई महिनापछि अर्थात गएको अक्टोबरमा सो संख्या एक लाख पुगेको थियो। तीन महिनापछि अर्थात गएको जनवरीमा मृत्यु हुनेको संख्या डेढ लाख पुग्यो।

मार्चको मध्यसम्म कोरोना संक्रमण तथा मृत्यु सुस्त भएको थियो। त्यसपछि दोस्रो लहर तीव्र बनेको छ। अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या एक करोड ७९ लाख भन्दा बढि पुगेको छ।

प्रकाशित मिति: : 2021-04-28 13:12:00

प्रतिकृया दिनुहोस्