१३ दिनअघि दमक–१ का धर्मप्रसाद कोइराला र उनकी श्रीमती मेनुकालाई कोरोना संक्रमण देखियो। उनीहरूमा लक्षणसहित संक्रमण देखियो। बिरामले सताएपछि कोइराला दम्पतीले दमकस्थित एक अस्पतालमा जाँच गराए।
ठीक हुने छाँटकाँट नपाएपछि उनीहरू विराटनगरस्थित नोबेल अस्पताल पुगे। ‘नोबेलमा कोरोना जाँच्नु अनि उपचार गरौँला भने। कोरोना पोजेटिभ देखियो,’ धर्मप्रसाद भन्छन्, ‘नोबेलमा राख्न मानेन। धरानको घोपा (वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) गयौँ। त्यहाँ ठाउँ छैन भने। हामी घर आयौँ।’
नोबेलमा कोरोना पोजेटिभ देखिएपछि नोबेलले स्वास्थ्य कार्यालय झापालाई जानकारी गरायो। उनलाई झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए। तर, केही सहयोग गरेनन्। अस्पतालले भर्ना नलिएपछि धर्मप्रसाद घर फर्किए।
दम्पत्तिमै लक्षण थियो। उनीहरूलाई सबैभन्दा धेरै श्वासप्रश्वासमा समस्या थियो। ‘सुरुमा त मर्छु कि जस्तै भएको थियो। अहिले त धेरै ठीक भएँ,’ उनी भन्छन्, ‘अक्सिजनचाहिँ कसरी व्यवस्था गर्ने भन्नेमा थिएँ। बल्ल आफैँ किनेर घरमै ल्याएँ।’ संक्रमण देखिएपछि राज्य र स्थानीय तहबाट कुनै सहयोग नभएको उनी बताउँछन्। ‘राज्यको तर्फबाट केही सहयोग भएन। स्थानीय सरकारले त फोन घरेर कस्तो छ पनि भनेन,’ उनी भन्छन्, ‘राज्यको तयारी त केही रहेनछ। यत्रो पर्दा पनि चेत आएन छ। केही छैन शून्य।’