प्रधानमन्त्री ओलीद्वारा ९६ वर्षपुरानो पाटन माविको आधुनिक भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार हरक्षेत्रबाट लागिपरेको बताएका छन्। 

देशको पुराना विद्यालयहरुमध्ये पर्ने ललितपुरको पाटन माध्यमिक विद्यालयको  नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्।  

प्रधानमन्त्रीले सम्बोधनका क्रममा ९७ वर्षअघि विसं १९९० सालमा देशमा प्रवेशिका परीक्षा बोर्ड बन्नुभन्दा अघि स्थापित विद्यालयले नयाँ भवन पाउँदा गुणस्तरीय शिक्षा दिन सकिने अर्को एक अवसर प्राप्त भएको समेत बताए।

विद्यालयको स्थापना १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेर जबराले गरेका थिए। 

प्रधानमन्त्री ओलीले पाटन मावि देशमा धेरै पुस्ता,  प्रणाली र शासनहरुबीच पुलको काम गर्ने पनि बताए। विद्यालय स्थापना तत्कालीन श्री ३ चन्द्रशमशेरमा रहेको धेरै खालका काम गर्ने प्रवृत्तिको परिणामसमेत भएको धारणा पनि उनको थियो। 

प्रधानमन्त्रीले भवनका लागि ऋण सहयोग उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरेका थिए। ‘हामी समृद्धिको लक्ष्य प्राप्तिका लागि हरेक क्षेत्रबाट प्रयास अघि बढाइरहेका छौं, त्यसका प्रमुख पक्षमध्ये शिक्षा एक हो’ , उनले भने।  

करिब १८ करोड रुपैयाँको लागतमा बनेको नयाँ विद्यालय भवनमा तीन वटा ब्लक अन्तर्गत २७ कक्षा कोठा र एउटा प्रयोगशालासमेत रहेको छ। साथै तत्कालिन प्रधानमन्त्री जुद्ध शम्सेरका पालामा बनेको एक सभा हलको प्रवलीकरणसमेत यसै अवसरमा गरिएको छ। 

२०७२ सालको भूकम्पपछि जापान सरकारले पुननिर्माणका लागि जिम्मा लिएको  कुल २ सय ७४ वटा विद्यालयमध्ये पाटन मावि सहित २ सय १८ वटाको निर्माण पूरा गरिसकेको छ ।

प्रकाशित मिति: : 2021-04-19 15:09:00

प्रतिकृया दिनुहोस्