गुफाकाे गाँउ गुम्दा: धार्चेमा २ वटा गुफाको अध्ययन सम्पन्न (भिडियोसहित)

गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं ५- गुम्दामा दुइवटा गुफाको प्रारम्भिक चरणको अन्वेषण तथा अध्ययन सम्पन्न भएको छ।

धार्चे मनासलु पर्यटन विकास समितिको आयोजनामा काठमाण्डौबाट एक गुफा अध्ययन टोली ३० गते गुम्दाको यामगाउँ पुगेको थियो।

टोलीलाई चैत २९ गते गोर्खा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले सदरमुकाम गोरखा वजारमा भेटेर शुभकामना दिएका थिए।  गुफा अध्ययन टोलीको नेतृत्व समितिका अध्यक्ष तथा पर्यटनकर्मी निवासी साने गुरुङले गरेका थिए।

सात कन्या गुफा यामगाउँ नजिकै सडकको छेउमा समुन्द्र सतहवाट १८०० मिटरमा अवस्थित रहेको छ। अध्ययनको क्रममा गुफाको लम्बाइ करिव ३० मिटर थियो भने, चौडाइ २ देखि ५ मिटरको ठुलो कोठा पाइएको छ।

अध्ययनबाट गुफा भित्रको आकार लाम्चो भएको पाइएको छ। डोरीको सहयोगमा प्रविधिक टोलीले गुफा भित्रसम्म पुगेर अन्वेषण गरेका थिए। 

त्यस्तै केही माथी रहेको भोटे लामा गुफा समुन्द्र सतहदेखि १८५० मिटरमा अवस्थित छ। जसको २ वटा प्रवेशद्वार रहेको पाइएकाे
छ। उक्त गुफा ३० मिटर लामो र भित्र ठुलो कोठा रहेको अध्ययन टोलीका सदस्य दविन्द्र तामाङले जानकारी दिए। उनका अनुसार अन्य ठाउँमा पनि गुफाहरु हन सक्ने अनुमान गरिएको छ।

गुफाको प्रकृति र आकार हेर्दा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने तामाङले बताए। गुफा भित्रका आकारलाइ असर नपुर्याइ सरसफाइ र पुर्वाधार निर्माण आवश्यक रहेको उनको सुझाव छ। साथै उनले स्थानियवासीलाइ गुफाको महत्व वुझाउन जरुरी रहेको औल्याए। 'प्रकृतिप्रेमी पर्यटकहरु रमाउन सक्छन', उनले भने, 'गुफा आकर्षक र सहासिक छ।'

प्राविधिक टोलीमा गुफाविद् दविन्द्र तामाङ र भक्त कुमार विकसहित संचारकर्मीको सहभागीता थियो। वडा नं ५ का अध्यक्ष तुल वहादुर गुरुङले पहिलो चरणको गुफा अध्ययन सफल भएकोमा खुशी व्यक्त गरे।

उनले भने, 'अब हामी अन्य गुफाको थप अध्ययन र खोजी गर्नेछौ। गाउँपालिकाले यसको पुर्वाधार र विकासमा पहल गर्नेछ।'

गुम्दा गाउँका वरिपरी थुप्रै गुफाहरु रहेको र गुम्दालाइ गुफाको गाउँको रुपमा चिनाउँदै पर्यटन प्रवर्धन र विकासमा जोड दिने उनको भनाइ छ। यसको साथै विभिन्न स्थानमा किस्पा, उरा टु , कोकार्चाङ, तरां पाखा र मनकाङ गुफा रहेको समेत उनले जानकारी गराए।

धार्चे मनास्लु विकास समितिका अध्यक्ष साने गुरुङले गाउँपालिकासँग सहकार्य गरेर गुफाको संरक्षण र प्रवर्धन गर्ने कार्यमा जुट्ने वताएका छन। 'लोवर मनास्लु समेत रहेकाे धार्चे क्षेत्रमा सरोकारवालासँग मिलेर अन्य पर्यटकिय  गन्तव्य र गतिविधिको खोजी, अध्ययन र प्रवर्धन गर्नेछौ।', गुरुङले भने।

सात कन्या गुफाबाट करिव १०० मिटरमाथि सात कन्या पोखरीसमेत छ। पुरातत्व विभागले पर्खाल निर्माण गरी संरक्षण गरेको छ। जहाँ देविको मन्दिर पनि छ। प्रत्येक वर्ष पुष २९ गते लाग्ने मेलामा  स्थानियवासीले कुखुरा, बोका आदीको बली दिइएर पुजा गर्दै आएका छन्। 

उक्त ठाउँमा वोन धर्मावलम्वी गुरुङ समुदायले झांक्री नाचपनि नाच्ने गर्दछन्। 


भिडियाे हेर्नुहाेस्


 

प्रकाशित मिति: : 2021-04-17 11:51:00

प्रतिकृया दिनुहोस्