मुम्बईमा अक्सिजनको अभाव, भकाभक मर्न थाले संक्रमित 

भारतको मुम्बई शहरका सरकारी तथा निजी अस्पतालहरूमा अक्सिजनको कमी भएका कारण मृत्यु हुनेको संख्या दिनदिनै वृद्धि हुन थालेको छ। 

मुम्बईको नालासोपाराको एक अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमित बिरामीहरूको मृत्यु भएको छ। अक्सिजन अभावका कारण बिरामीहरूको ज्यान गएपछि मुम्बईमा थप आतंक फैलिएको हाे।

पछिल्ला दिनहरूमा मुम्बईको नालासोपारामा बसोबास गर्नेहरू जनजीवन त्रसित बनिरहेको छ। गम्भीर बिरामीहरूका लागि उपचार गरिने नालासोपारा क्षेत्रको एकमात्र अस्पताल हो।

नालासोपाराका विधायक क्षितिज ठाकुरले अस्पतालमा भर्ना भएका बिरामीहरूको लागि अक्सिजनको अभाव हुन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग मागेका छन्।

विधायक ठाकुरले प्रधानमन्त्री मोदीसँग ट्विटरमार्फत् तुरुन्त पर्याप्त अक्सिजन उपलब्ध गराउन अनुरोध गरेका छन्। नालासोपारामा सात हजारभन्दा बढी कोरोना भाइरस संक्रमणका बिरामीहरूलाई अक्सिजनको आवाश्यकता रहेको छ।

पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति नभए यस क्षेत्रमा मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने चिकित्सकहरूले चेतवनी दिएका छन्। बिरामीहरूलाई आवश्यक पर्ने अक्सिजनको भण्डार राज्यमा कम हुँदै गएको छ।

महाराष्ट्र सरकारसँग अब केही दिन मात्र पुग्ने अक्सिजन रहेको स्रोतले बताएको छ। देशका विभिन्न स्थानमा भाइरसबाट मृत्युको संख्या पनि बढ्दो छ। भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ।

दैनिक दुई लाखभन्दा बढी नयाँ बिरामी थपिन थालेकाले संख्या बढ्ने क्रम जारी रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-04-13 15:30:00

प्रतिकृया दिनुहोस्