तिब्बती शरणार्थी नयाँ राष्ट्रपति खोज्दै 

Photo : The Tibet Post
Photo : The Tibet Post

केन्द्रिय तिब्बती प्रशासनको राष्ट्रपति (सिक्योङ) पदका लागि आइतबार अन्तिम चरणको मतदान सम्पन्न भएको छ।

निर्वासनमा रहेका ४५ तिब्बती संसद पदका लागि चुनाव भएको थियो। 

विश्वको २६ देशमा छरिएर रहेका तिब्बती शरणार्थीबाट छानिने संसद पदका लागि भएको चुनावको नतिजा सार्वजनिक हुन एक–दुई दिन लाग्ने बताइएको छ। सबै देशको नतिजालाई एक ठाउँमा राखेपछि मात्र परिणाम सार्वजनिक हुन बताइएको छ।

यसपालि राष्ट्रपति पदका लागि ८ जना उम्मेदवार मैदानमा उत्रिएका थिए। तर, मुख्य प्रतिस्पर्धा दुई जनाबीच रहेको बताइन्छ। तिब्बत चुनाव आयोगका प्रमुख वाङडु टर्सिङका अनुसार २६ देशमा निर्वासित जिवन बिताइरहेका ८३ हजार ७९ तिब्बती शरणार्थीले मतदान गरिरहेका छन्। 

यसपालि केन्द्रिय तिब्बती प्रशासनको राष्ट्रपति पद तथा ४५ संसदीय सिट गरेर दुईवटा प्रक्रियामा चुनाव भएको थियो। संसदीय सिटका लागि ९५ जनाले उम्मेदवारी दिएका थिए। राष्ट्रपति पदमा पेन्मा त्सेरिङ र ओकात्सङ केलासाङ दार्जीबीच कडा टक्कर छ।

चुनाव आयोग प्रमुख टर्सिङले पहिलो चरणमा आठ उम्मेदवार राष्ट्रपतिको पदमा उठेको बताए। उनले पहिलो चरणमा पेन्माले सबैभन्दा बढी २४ हजार ४ सय ८८ मत ल्याएको र दोर्जीले १४ हजार ५ सय ४४ मत प्राप्त गरेको बताए। 

आइतबार अन्तिम चरणको मतदान सकिएको अवस्थामा परिणाम १४ मेमा घोषणा गरिने उनले जानकारी दिए।


प्रकाशित मिति: : 2021-04-12 10:14:00

प्रतिकृया दिनुहोस्