प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी-व्यवसायीलाई आह्वान गरेका छन्।
नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए।
अन्य उद्यमी-व्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए।
“प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ”, उद्योगी-व्यवसायीले व्यहोर्नुपरेका कठिनाइबारे जानकार प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गरे।
एकद्वार प्रणालीलगायत सरकारले उद्योग तथा लगानीमैत्री वातावरण बनाउन अवलम्बन गरेका सुधारका कार्यक्रमलाई अझ सरल र सहज तुल्याइने उनले बताए।
अत्यावश्यक उपभोग्य वस्तु मात्र आयात गर्न तथा निर्यातमूलक सामग्रीको उत्पादन बढाउन सुुझाउँदै प्रधानमन्त्रीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै व्यापार असन्तुलन घटाउन सकिने बताए।
“देश निर्माण गर्ने सङ्कल्प र आत्मविश्वासका साथ अघि बढ्नुहोस्, तपाइँहरुलाई सघाउन सरकार तयार छ”, उनले भने, “राष्ट्रको औद्योगिक विकासका लागि सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको तथा त्यसलाई कार्यान्वयन गर्न निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य छ।”