विचलन प्रचण्डमा आएको हो, हामीमा होइन: लेखराज भट्ट (अन्तर्वार्ता)

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन्, लेखराज भट्ट। ०७४ सालको आम चुनावमा उनी माओवादीकेन्द्रका तर्फबाट उम्मेद्वार भई कैलाली जिल्लाबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए।

सर्वोच्च अदालतको निर्णयका कारण नेकपा विघटित भई एमाले र माओवादी केन्द्र व्युँतिएपछि भट्ट भने एमालेतिर लागे। उनी पुरानो दल माओवादीकेन्द्रमा गएनन्। उनले आफू एकताकै निरन्तरताको पक्षमा रहेको दाबी गर्दै आएका छन्। कुराकानीका क्रममा उनले भने, ‘विचलन प्रचण्डमा आएको हो, हामीमा होइन।’

उनको पुरानो पार्टी– माओवादी केन्द्रले मंगलबार संसद् सचिवालयमा निवेदन दर्ता गरेको छ– भट्टसहित मन्त्री रहेका चार जना प्रतिनिधिसभा सदस्यलाई निलम्बन गरिएको जानकारीसहित। माओवादीकेन्द्रले सांसद्बाट हटाउन पत्र दर्ता गरेकोबारे बिएल नेपाली सेवाले मन्त्री भट्टसँग गरेको संवाद।

माओवादीले तपाईंहरुलाई सांसद्बाट हटाउन पत्र दर्ता गरे छन् नि, के भन्नुहुन्छ?

पत्र दर्ता गर्ने उनको कुरो हो, हामी हाम्रो काम गर्दै छौँ। हामी हाम्रो बाटोमा हिँड्छौँ। उनी उनको बाटोमा हिँड्छन्।

तपाईंहरुले माओवादीकेन्द्र छाडिसक्यौँ, एमालेबाटै राजनीति गर्छौं भनिसकेपछि फेरि कारवाही किन गर्नुपरेको होला?

त्यो त उनले जान्ने कुरा हो। हामी एकताकै निरन्तरताको पक्षमा उभियौँ। पार्टीको नाम के हो भन्ने मुख्य विषय होइन। प्रचण्डले कोसँग एकता गरेका थिए भन्दा केपी ओलीसँग नै गरेको हो।

हामी पछिसम्म नै त्यही एकताको पक्षमा उभियौँ। र, अदालतले होइन, तिमीहरु नामले अलग–अलग भयौ भन्यो। तर, एकता नगर, एकतालाई तोड भनेको त थिएन नि अदालतले। पार्टीभित्र भएका समस्या त आफूले छलफल गर्ने कुरो हो।

नाम के राख्ने भन्ने कुरो त दुइटा नेताको बीचमा सहमति भएर आऊ भनेर निर्वाचन आयोगले समय दिएको हो। एकता गर्ने अनि एकतालाई आफ्नो स्वार्थअनुसार एकता नभएको भनेर भाँड्ने देखियो। हामी त्यही प्रवृत्तिविरुद्ध उभिएको हो।

कसले के लेख्छ, के गर्छ भन्नेले हाम्रालागि ठूलो महत्व राख्दैन किनभने यो परिणाम आउँछ भन्ने कुरो बुझेरै त हामीले सही बाटो लिएका हौँ। हामी कारवाही हुन्छ भन्ने डर भएको भए त यस्तो निर्णय गर्ने नै थिएनौँ।

के त्यसो भए तपाईंहरु विचलित हुनुभएको होइन, प्रचण्डजीमा विचलन आएको भन्ने तपाईंको धारणा हो?

निश्चित रुपमा हामी विचलित भएका होइनौँ। एकता उहाँ (प्रचण्ड)ले गर्नुभयो। उहाँले केपी ओलीसँग मिलेर एकता गर्नुभयो। हामी त्यो एकताको पक्षमा आयौँ। कुनै सानातिना कुराले एकता टुट्नुहुन्न।

कसैको व्यक्तिगत इच्छा, महत्वांक्षा पूरा नहुँदा एकता भाँड्ने कुरो गर्नु हुन्न, एकताको पक्षमा दह्रोसँग उभिनुपर्छ र एकतालाई अघि बढाउँदै सदृढ बनाएर बढ्नुपर्छ भन्ने कुरो हाम्रो रह्यो। त्यहीँ उभियौँ हामी। त्यो एकताबाट विचलन आएको त प्रचण्डको हो, हाम्रो होइन नि त!



माओवादीले अघि बढायो चारमन्त्रीलाई सांसद्लाई हटाउने प्रक्रिया, निलम्बनको पत्र संसदमा दर्ता

कर्णालीमा एमाले एकजुट, माओवादी नेतृत्वको प्रदेश–सरकार ढल्ने लगभग पक्का

प्रकाशित मिति: : 2021-04-06 17:14:00

प्रतिकृया दिनुहोस्