नेप्से अहिलेसम्मकै सर्वोच्च बिन्दुमा, कारोबार रकममा पनि उच्च वृद्धि

फाइल तस्वीर
फाइल तस्वीर

सेयर बजारले 'अल टाइम हाई' रेकर्ड बनाएको छ। नेप्से २६५७.६१ अंकसहित आइतबार बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको हो।

यसअघि नेप्से सूचक अधिकतम २६४०.३५ विन्दुसम्म कायम भएको थियो।

सूचकसँगै कारोबार रकममा पनि रौनक बढेको छ। साताको पहिलो दिन आइतबार ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो पछिल्लो समयमा भएको कारोबार रकममध्ये निकै बढी हो। नेप्से सूचक पनि २५.७१ अंकले वृद्धि भएको हो।

आइतबार कारोबार भएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ।

त्यसैगरी, वित्त उपसमूहको ३.६६ प्रतिशत, अन्यको ३.४१ प्रतिशत र जलविद्युतको १.५ प्रतिशत बढेको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.३९ प्रतिशत घटेको छ भने लगानी उपसमूहको २.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, अपर तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रुडेन्सियल इस्न्योरेन्स, नेपाल बैंक र एनएलजी इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

साताको पहिलो दिन आइतबार सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य भने सर्वाधिक ४.६३ प्रतिशत घटेको छ। त्यसैगरी, सर्पोट माइक्रोफाइनान्स र एचआईडिसीएलको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति: : 2021-04-04 17:31:00

प्रतिकृया दिनुहोस्