बाँकेको नरैनापुरमा भीषण आगलागी हुँदा एक सय घर जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका ४ मा  भीषण आगलागी हुँदा झण्डै १ सय घर जलेर नष्ट भएका छन्।

शनिबार दिउँसो गाउँपालिकाको वडा नं ४  खोदावामा भएको आगलागीबाट अहिलेसम्म झण्डै १ सय  घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन। जिल्ला विपद् वयवस्थापन  समिति, रेडक्रस तथा जिल्लास्थित सुरक्षा निकाय तथा पाँच वटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा आएको कुरुम्बाङ बिएल नेपाली सेवालाई बताए।

उनका अनुसार आगलागीबाट चार जना घाइते भएका छन्। १ महिला र ३ पुरुष घाइते भएको बताईएको छ।   उनीहरुको उपचारको लागि नेपालगन्ज पठाइएको छ।

‘अहिले पनि हामी प्रभावित क्षेत्रमै छौ।  यहाँको अवस्था निकै नाजुक छ। हामी व्यवस्थापन गरिरहेको छौँ। टेन्ट तथा खाने र बस्ने व्यवस्था भइरहेको छ।’ आगलागी प्रभावित खोदावामा रहेका कुरुम्बाङले भने। 

गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायतका सबै सम्पत्ति जलेर नष्ट भएको छ ।  क्षतिको यकिन विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: : 2021-04-03 20:10:00

प्रतिकृया दिनुहोस्