अदृश्य 'दृश्यहरु'

दिलिप बान्तावा

दक्षिण कोरिया

- "हराउनुभो त मित्ज्यू। के कस्तो चल्दैछ लेखन पठन?"

- "बेहाल छ यार। कामले पेदु बनाईरहेको छ आजकल।"

कवि दिलिप कुँवरसंगको पछिल्लो कुराकानी हो यो।

एउटै नाम भएर सायद हामी ठट्टै ठट्टामा मित्ज्यू भन्छौँ आपसमा। खासै कुराकानी हुदैन। कहिलेकाही छोटा मिठा chatting हुन्छन्। म मित्ज्यूको कविताको फ्यान। निक्कै मीठो लाग्छ उहाँको कविता सुन्न, पढ्न। केही दिन अघि उहाँको त्यो सोधाईले म झस्किएँ। मलाई बेला बेलामा केही लेखिरहन उक्साईरहने आत्मियहरुको लाईनमा जोडिनुभएको हो- उहाँ।

म उस्तरी साथी बनाउन नसक्ने मान्छे, बनाएर पनि टिकाउन नसक्ने मान्छे। भौतिक रुपमा नजिक भएका साथिहरुका लागि म खास हुन सक्दिनँ। त्यसैले म एकलकाँटे भएको हुँ। यसमा कुनै गुनासो रहन्न कहिल्यै। मान्छेको स्वभाव नै हो जति सक्दो आफ्ना राम्रा चरित्र, बानी ब्यहोरा मात्रै प्रस्तुत गर्नु। म अछुतो रहने कुरै भएन। सके मसंग भएका मेरा खराब आचरणहरुसंग दिक्दारिएर साथिहरु साथी भईरहन नसक्दा हुन्। त्यै र बरु देखभेट नभएका, परैबाट बेला मौकामा भलाकुसारी गर्ने साथिहरुसंग भने समय समयमा अन्तरंग कुराकानी हुने गर्दछ। साथिहरुको "लेख्नुपर्छ। राम्रो छ।" आदि ईत्यादिको compliment ले म हौसिन्छु, फुर्किन्छु र थप गन्थन लेखिरहन्छु। आज पनि मित्ज्यूको उक्त चासोमा हौसिएर अनायासै औँलाहरु किबोर्डमा चल्न थालेका छन्। तपाईं पाठकका लागि पढ्न योग्य बन्ला नबन्ला तर मेरो मनको गथासो भने कम गर्नेछु अवस्य।



आमाको तासफोटो: परदेशबाट घरदेश चिहाउने आँखिझ्याल



आजकल डटपेन, कलम र कापिको महत्व घट्दो क्रममा छ। मेरो कुरा गर्ने हो भने कापिको लाईनमा अक्षर स्थिर बनाएर लेख्न नसक्ने भईसकेँ। प्राय जसो मान्छेहरुको सबैथोक मोबाईल कै जिम्मामा छ आजभोली। बरु घरको सन्दुक जे जस्तो होस्, मोबाईलको चावी बन्दिलो बनाउनु जरुरी छ। दुई वटा बुढी औँलाले किचेको भरमा संसार बिचरण गर्न सकेको छ आजको मान्छे। भएन त अचम्म? हेर्दा दुई वटा औँलाको काम छ तर ती दुईलाई लुकेर साथ दिने अरु आठ वटा औँलाको गन्ती नामि बिर्सिरहेका हुन्छौँ। उसो त दृष्यमा जे छ त्यसैलाई सत्य मान्ने वा त्यै नै अन्तिम हो भन्ने मानवीय स्वभाव नै हो। तर भनिन्छ नि समुन्द्रमा पानीको सतहमा देखिने ढुंगा पानीमुनी विशाल भाग लुकेको हुन्छ।

यस्तो कुरा सम्झँदा लाग्छ दुनियामा देखिने हरेक दृष्यहरु वास्तविकताको सानो अंश मात्रै हुन् तिनको पुर्णता त पुर्ण रुपमा अदृष्य पर्दाले ढाकेकै हुन्छ। तपाईले देख्ने मेरो भोगाई भनौँ वा मैले देख्ने तपाईको जिन्दगी, यी त फगत यतिखेर मोबाईलको सानो किवोर्डमा दौडिरहेका मेरा दुई बुढी औँला मात्रै रहेछन्। हाम्रो देखिएको जीवन देखिनयोग्य बनाउने थुप्रै अदृष्य दृष्यहरु त कहिल्यै नदेखिने रहेछन्। अक्सर त्यस्ता नदेखिने वा नदेखाईने दृष्यहरुसंग एक्लै रुमलिईरहन्छु म। आफ्नै मनसंग, आफ्नै एकांकिपनसंग। आफैलाई सोध्छु, आफैले जवाफ दिन्छु। कुनै कुनै प्रश्नहरु जवाफबिहिन पनि हुन्छन्। कुनै होईन धेरै पो। कहिलेकाही जटिल प्रश्नहरुसंग दोहोरी खेल्न मन पर्छ। कहिलेकाही सरल र सहज कुराहरुमै अल्झिरहन आनन्द लाग्छ। तर कुरा यति हो ती सबै बुढी औँलाहरुलाई साथ दिने Hidden Fingers जस्ता बिषयहरु हुन्।

"सुनकोशिको चिसो पानी परदेशिले पिउँदा..." एक छेउमा sleep mode मा बसेर ल्यापटपले अलि मधुरो स्वरमा बजाईरहेको लासमित राईको यो गित भर्खरै सकियो। म Music Player लाई सँधै Random mode मा राख्ने गर्छु। सँधै एउटै र उस्तै नियमितता मलाई मन नपर्ने। जिन्दगि पनि मलाई यस्तो मन पर्दैन क्यार। Random Music Player जस्तै आकस्मिक रुपमा आईपर्ने समय बाँच्न नै मन पर्छ बरु। कुनै एकरुपता बिना, कुनै योजना बिना वा कुनै अनुमान बिनाको जिन्दगी बाँच्नुमा आनन्द लाग्छ। ठिक त्यसरी नै करिव साढे तीन शय वटा जति मिसमास Category का मेरा गितहरु आफुखुशी बजिरहन्छन् कुनै नियमित क्रमाङ्कभन्दा फरक भएर।

आजकल अलि गर्मी शुरु भएको छ। साँझ एक चक्कर बाहिर डुलेर आउँदा जिऊ खल्खली पसिनाले भिजिसक्छ। नुहाएर खानपिन गरेपछी ओच्छ्यान लाग्दा झ्यालमा राखिएको जालिदार आल्मुनियम फ्रेमको स साना छिद्रहरुबाट सिर्र सिर्र बतास छिरिरहेको छ। झ्यालनिरै छ ओच्छ्यान मेरो। यहाँबाट हेर्दा निक्कै पर लहरै जुनकिरीहरू  चल्मलाए जस्तै लाग्ने बत्तिहरु देखिन्छन्। त्यो समुन्द्र किनार र National Highway मा गुडिरहेका गाडिहरुको उज्यालोले बनाईरहेको दृष्य हो। एक प्रकारको मिराज। किनभने अहिले देखिएको दृष्य ठ्याक्कै एउटै ठाउँको जस्तो देखिन्छ। तर हकिकत यो हो कि ती दुई बिचको दुरि एक म्याराथुन जति छ। यो दुनियामा कत्ती धेरै भ्रमहरु छन् होईन त? कुनै भ्रमहरु तोडिन्छन् जसरी मैले देख्ने अहिलेको मिराज उज्यालोमा हराउँछ। तर कुनै भ्रमहरु भने सत्यभन्दा पनि जब्बर बनेर बसिदिन्छन् र त्यही भ्रमकै भाकामा मान्छेले आफ्नो जुनि ब्यतित गर्दछ। त्यसो त हरेक सत्य त्यो आफैमा भ्रम हो। 



‘याम्बुनेर’ भित्र याम्बुको खोजी



\अर्को पट्टिको झ्यालभन्दा निक्कै परबाट आईरहेको ल्याम्प पोष्ट्को दुधिलो किरण कोठा नजिकैको साकुराको बोटमा ठोक्किएर झ्यालसम्म आईप्पुग्दा छरपस्ट देखिन्छ। यो दृष्यमा मन्द बहिरहेको सितल हावा आँखा चिम्म गर्दा सार्‍है आनन्दानुभुती भईरहेको छ। साँच्चै मान्छे खुसी हुन ठुला ठुला प्राप्तिहरु, सफलताहरु नै जरुरी हुन्न नि। यस्ता मसिना कुराहरुले अझ मान्छेको मनलाई शान्त बनाउन सक्छ, चेतनालाई चखिलो बनाउन सक्छ, आत्मालाई सन्तुष्ट बनाउन सक्छ। अक्सर म यस्तै साना कुराहरुलाई संग्रह गर्न मन पराउँछु। पारिपट्टिको सडकमा आक्कलझुक्कल गाडिहरु ओहोर दोहोर गरिरहेका छन् सुइँय.....सुइँय.. एक तमासको आवाजमा। रातको समय सानो आवाज पनि प्रष्टै सुनिन्छ। तिनै आवाजमा सककमाथिको जंगलबाट घरिघरी लाटोकोसेरोले आफ्नो उपस्थिती थपिदिन्छ। सम्झिन्छु, प्रकृतिका हरेक सजिव चिजहरू आफ्नो अस्तित्वका खातिर युगसंग संघर्ष गरिरहन्छन् आ-आफ्नै प्राकृतिक नियममा। कुलुलुलु गर्दै कराउने लाटोकोसेरो, भर्खरै कराएको फ्याउरो वा आधारात भईसक्दा पनि सडकमा बेपत्ता गरि गाडि दौडाईरहेका मानिसहरु या भनुँ सपनाहरूको सन्दुक च्यापेर यहाँ आईपुगेको म। हामी सबै आफू भएको वा बाँचेको युगसंग निरन्तर युद्धरत छौँ।

Music Player मा यतिखेर नारायण गोपाल "मेरो गित मेरै प्रतिबिम्ब होईन..." गाईरहेछन्। कत्ती विशाल दर्शन बोकेको छ यो १७ लाईनको गितले। गोपाल योञ्जन आफैमा एक दर्शन जस्ता लाग्छन्। उनले बाँचेको जिन्दगी र सृजना गरेको निधिहरुको प्रतिबिम्ब आजको पुस्तामा खै र! 

सोँच्दैछु यो पछि "आगो पिएर बाँच्ने बिवश मेरो कथा छ.." बजोस्, पुरानो version मा। मसंग  नयाँ पुरानो दुबै छ। तर पुरानोमा जस्तो नयाँ सुन्नुमा आनन्द लाग्दैन। पुराना गित र आवाजहरुमा खै किन हो विशिष्ट आनन्द महसुस गर्छु। तर आफैले नियमितता भत्काएपछी आशा गर्नु पनि बेकार हो नि है! यदाकदा चाहिँ अनुमान मिल्न सक्छ, सँधै त अनुमान बेगरकै आईपर्छ। जिन्दगी पनि त्यस्तै त चलिरहन्छ हर बखत। तयारी र अनुमान एकातिर गरिन्छ, तर जिन्दगिको रेखा हामिले ढुकेभन्दा निक्कै परैबाट कोरिन्छ। एकदमसंगले अप्रत्यासित, असहज र अनकन्टार ठाउँबाट।

यसरी अनेक सोँच्दा सोँच्दै मनमा अनेकौँ चिजहरु वारपार भईरहन्छन् मानौँ यो मन आईज्याक न्यूटनले घामको किरणबाट सात रंग छुट्याउन प्रयोग गरेको प्रीज्म हो। एउटा कुरा सम्झना हुन्छ, त्यसले अनेक चिजहरु ल्याईदिन्छ। ठिक त्यस्तै हुदैछु म यतिखेर। माफ गर्नुहोला मित्ज्यू, म तपाईको सम्झनाबाट शुरु भएर हुँदो नहुँदो कुराहरुमा पिङ् खेलिराखेको छु।

तपाईं भन्नुहुन्छ नि, मुड चलाउने कुरा। भर्खर अघि खाना बनाउँदै गर्दा म्यानमारको समाचार पढ्दै थिएँ। त्यो समाचारले केही भिडियोहरू खोजेर हेर्न बाध्य बनायो। आलु र च्याऊको कम्बो तर्कारी पकाउँदै भिडियोहरु हेरेँ। बाफ्रे! मान्छेको चेतनालाई निर्देशन दिने चिज के होला त्यस्तो? एउटै चिजलाई ठिक बिपरित देख्ने नजरिया कसरी बन्दो होला? मान्छेले आफू बाहेक अरु सबै नासिएर, मासिएर, हराएर जाउन् या कहिल्यै मेरो हैसियतमा आउन नसकुन् भनेर किन, कसरी सोँच्न सक्दो होला? नत्र भने त्यहाँ मान्छेहरुको भिँडमा हाँडिभित्र मकै भुटे जस्तै गरि गोलि हान्ने र हान्न आदेश दिने सैनिकहरू किन सोँच्दैनन् कि उनिहरुले बन्दुक ताकिरहेकाहरू उनिहरु जस्तै मान्छे हुन्। उनिहरू जत्तिकै हकदार छन् उनिहरुले बाँछे जस्तै त्यहाँ बाँच्न। तर त्यही हक प्रयोग गर्न उनिहरु किन मर्नुपरिरहेको छ? सोँच्दा सोँच्दै दिमाग भारी भएर आउँछ। समाचारहरुका अनुसार त्यहाका आन्दोलनकारिहरु युवा पुस्ताका छन्। जसले म्यानमारको सडक तताईरहेका छन्। उनिहरुको ठम्याई छ, अघिल्लो पुस्ताले सन् २००८ को संबिधान स्विकार गरेर गम्भीर भुल गर्‍यो। म्यानमारको ठुला ठुला उद्योग कलकारखानाहरूमा आफ्नो एकछत्र पकड राखेको सेनाले "सैन्य कु" गरि लामो समयसम्म सैनिक शासन चलाएर सन् २००८ मा नयाँ संविधान बनाएको थियो। संविधानमा संविधान संशोधन गर्न पार्लियामेन्टमा ७६ प्रतिशत सांसद संख्या आवस्यक हुने ब्यबस्था भयो। तर २५ प्रतिशत सांसद पदेन रुपमा आर्मिले पाउने ब्यबस्था पनि भयो। विभिन्न प्रजातान्त्रिक हक अधिकारहरू बिनाको उक्त संविधान बर्मेली जनताका प्रतिनिधिले कहिल्यै संशोधन गर्न सक्दैनन्।



'फातसुङ' अर्थात माटोको कथा



अझ रक्षा, सिमा सुरक्षा, गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालय समेत सेनाले नै पाउने संवैधानिक ब्यबस्था समेत राखियो। यसरी असिमित अधिकारप्राप्त सेनालाई लोकप्रिय राजनैतिक नेता र तिनको सेन्टिमेन्ट टाउको दुखाई त बन्ने नै भयो। फलस्वरुप अस्ति नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको प्रचार गरेर सैन्य कु गरेको छ। कु का बिरुद्ध भएका विभिन्न आन्दोलनहरुलाई नियन्त्रण गर्ने नाममा सयौँ मान्छे मारिएका छन्, हजारौ गिरफ्तार भएका छन्। भिडियो फुटेजहरुमा देखिन्छ बख्तरबद्ध गाडिमा हिडिरहेका आर्मिहरु सडक आसपास देखिने जो कोहिलाई गोलि हानिरहेका छन्। गाडिमा वा मोटरसाईकलमा सवार जनताहरुलाई अनाहकमै गोलि हान्दैछन्। भुइँमा लडेकाहरुलाई ढुंगाले थिचेर मारिरहेका छन्। लाग्छ, के ती पनि मान्छे नै हुन् त? सायद सत्ता र शक्तिमा पुगेपछी मान्छे, मान्छे रहँदैन कि? हिटलर, मुसोलिनी, पिनोसे वा नेपोलियनहरुको कहानी मात्रै पनि पढ्दा शरिरमा काँडा पलाउँछ भने अहिलेको समयमा पनि त्यो तहको बर्बरता भोग्न म्यानमारी नागरिकहरु अभिशप्त छन्। र त्यो स्थितिलाई उल्टाउन यतिखेर युवा पुस्ता सडकमा ओर्लिएको देखिन्छ। २००८ को सम्झौताभन्दा अघि बढेर पुर्ण अधिकार प्राप्त नागरिक हुने आन्दोलनको पक्षमा लागेको म्यानमारलाई हार्दिक शुभकामना। तर हाम्रो हालत पनि फरक त छैन नै। हरेक आन्दोलनहरु सम्झौतामा टुंगिए, केही थान नेताहरु सत्तामा पुगे जनताहरु उहीँ पुरानै भुमरिमा। २००७ सालदेखी शुरु भएको यो श्रृंखला अझै पनि उस्तै छ।

म बगेर अर्कै भुगालोमा पुगेँ फेरि। हुन त मैले यस्ता यावत कुराहरुमा चासो दिनु र नदिनुले वा कसैको बिरोध वा समर्थन गर्नुले कसैलाई कुनै फरक पर्दैन। तैपनी मुतको पहिरोले बगाईरहेको कमिलाले समेत आफू जत्रै आफ्नो अण्डा बोकेर दौडिरहेको हुन्छ भने मान्छेले त आफ्नो गतिको बोली बोल्दा उस्तो नाजायज नठहर्ला भन्ने पनि लाग्छ। अचम्म चाहिँ यस कारण लाग्छ कि किन स-साना चिजहरुले घोचिरहन्छ कता कता? सोँच्छु, अरुलाई सामान्य लाग्छ भने मैले चाहिँ किन खास ठान्नुपर्‍यो? तर त्यसो हुँदैन नचाहेरै पनि दृष्यहरु ठोक्किन्छन् आँखाको पर्दा छिचोल्दै कैद हुन्छन् र सुनामी जस्ता उत्पात समबेदनाहरु उरालिदिन्छन्। म्यानमारको सडकहरूमा देखिएका त्यस्तै दारुण दृष्यहरुले म पनि बिथोलिएँ र सम्झिएँ वि. सं. २०६२/०६३ को नेपालको सडक आन्दोलन। लाग्दैछ सत्ताको चरित्र सारा ब्रह्माण्डमा उस्तै रहेछ क्यार।

निक्कै बेर भयो। आँखा पनि टट्टाउन थाल्यो। औँला नि गलेछन् क्यार। बुढी औँलाहरूभन्दा नि सहयोग दिने चार जोर औँलाहरु थाकेछन्। थाक्ने त सहयोगी नै हुन् नि है! गितहरु कुन-कुन बजे वास्ता गरिनँ। सिर्फ संगितको धुन बजिरहेको याद छ। यतिबेला चाहिँ भर्खरै लता जिको स्वरमा "लग जा गले के फिर हँसिन् रात हो ना हो..." बजिसक्यो र अब बज्दैछ मोहम्मद रफिको स्वरमा "जाने वालों जरा मुड्कें देखो मुझें...।"

प्रकाशित मिति: : 2021-04-03 15:30:00

प्रतिकृया दिनुहोस्