मर्यादित व्यवसायका सन्दर्भमा नेपालको सहकारी अभियान : विगतदेखि वर्तमानसम्म

लोकान्तर

काठमाडाै‌ं

गोपीनाथ मैनाली

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ यस वर्षको राष्ट्रिय सहकारी दिवसको आदर्श वाक्य हो । यो आदर्श वाक्य अति नै समय सान्दर्भिक यस अर्थमा छ कि सहकारी व्यवसायलाई मर्यादित बनाउनु पर्ने चुनौती सहकारी अभियानले सामना गर्नु परिरहेको छ भने आधुनिक प्रविधिका कारण सहकारी व्यवसायलाई मर्यादित बनाउने अवसर पनि छ ।

व्यवसायलाई मर्यादित बनाउनु भनेको यसका आधारभूत मूल्य र आदर्शको अवलम्बन गर्ने वातावरण बनाउनु हो, प्रविधिले व्यवसायको लागत घटाउँछ, सेवा उत्पादन प्रक्रियालाई सरल बनाउँछ, कारोवार तथा कार्यविधिलाई सर्वसाधारणको जानकारीमा ल्याउँछ र सदस्य–संस्था र सेवाग्राहीबीच अन्तरक्रिया सहज पार्दछ । समाजको अब्बल अभियान र आदर्श व्यवसाय बन्नुपर्ने सहकारीको आफ्नै सदस्यलाई सन्तुष्ट राख्न नसक्ने, अझ कतिपय सदस्य आफ्नै संस्थाबाट ठगिएका आरोप लाग्न थालेको सन्दर्भमा सहकारीलाई मर्यादित बनाइ सदस्य हितमा केन्द्रित हुन यस आदर्श वाक्यले सबै सहकारीलाई नैतिक दबाब पनि दिने अपेक्षा गरिन्छ । 

सामूहिकतामा बल र विभाजनमा विपन्नता, सामूहिक अवसरका लागि व्यवसाय र आफूलाई सेवा सबैलाई सेवा भन्ने मानवतावादी धारणाका साथ विकास भएको सहकारी अभियान स्वयं अनुशासनमा रही स्वयंउत्तरदायी व्यवसाय हो । यसका केही अनौठा मौलिक चरित्रका कारण नै अभियानले महत्त्व पाउँदै आएको हो । यसका स्वामी र सेवाग्राही एकै हुन्छन्, सदस्यहरूले नै व्यवसायका लगानी, व्यवस्थापन र नियन्त्रण गर्दछन् । न्यून लागतमा सेवा व्यवस्थापन हुने भएकाले सदस्य हित संरक्षण हुन्छ । कारोवारका आधारमा प्रतिफल वितरण हुन्छ । प्रतिफलको हिस्सेदार समुदाय पनि हुन्छ ।

उपभोक्ता (वित्तीय, उपयोगिता, आवास) सेवा, श्रमिक सेवा र उत्पादन सेवा (खरिद, बजार र मूल्य सिक्री विकास) मार्फत सदस्यहितका व्यवसाय सञ्चालन गरिन्छ । त्यसैले यो नाफाको कम्पनी, कर्पोरेट हाउस, गैरनाफाको गैसस र सरकारी चरित्रको परियोजनाबाट नितान्त भिन्न हुन्छ । त्यसैले यो आदर्श, मर्यादित र साझाबन्धनको व्यवसाय कहलाउँछ । यो असल प्रणाली, असल सम्बन्ध र असल कार्यबाट सुशासित हुन्छ । त्यसैले सहकारी व्यवसाय आफैँमा मर्यादित व्यवसाय हो । यसमाथि उठ्ने प्रश्नले अभियानलाई चुनौती दिन्छ, त्यो स्वीकार्य हुनुहुन्न । 

प्रकाशित मिति: : 2021-04-02 11:14:00

प्रतिकृया दिनुहोस्