नेपालगञ्ज-पोखरा उडानका यात्रु बढेसँगै व्यवसायी उत्साहित

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित केही समयअघि शुरु गरिएको पोखरा-नेपालगञ्ज उडानमा यात्रुको सङ्ख्या बढ्न थालेपछि व्यवसायी उत्साहित भएका छन्। कोभिड-१९ को कारण सुस्ताएको पर्यटनलाई गति दिन फागुन ७ गते निजी क्षेत्रको प्रयासबाट उडान शुरु गरिएको थियो। 

नेपाल एशोसिएशन अझ टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा)को  टोलीसहित नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशम्शेर जबरासहितको जनप्रतिनिधि र पर्यटन व्यवसायी सीता एयरलाइन्स चार्टर उडानबाट पोखरा आएर यसको औपचारिक शुभारम्भ गरेका थिए। त्यसयता हप्तामा दुई दिन मात्र उडान हुँदै आएकामा यात्रु सङ्ख्या बढेपछि अहिले हप्तामा तीन दिन उडान हुन थालेको छ। 

पोखरा–नेपालगञ्ज सिधा उडानसँगै यात्रुको सङ्ख्या बढेपछि अहिले यस क्षेत्रका व्यवसायीले पनि खुशी व्यक्त गरेका छन्। “गण्डकी नाट्टा र नेपालगञ्ज नाट्टा च्याप्टरको संयुक्त प्रयासबाट उडानको शुरुआत गरेका थियौँ, अहिले यात्रुको सङ्ख्या बढिरहेको छ”, नाट्टा गण्डकीका अध्यक्ष सञ्जकान्त सिग्देलले भने।

अहिले पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढिरहेको छ। उनले उडानबाट आउने ६० प्रतिशत पर्यटकीय दृष्टिकोणले घुमघाम र ४० प्रतिशत पारिवारिक भेटघाटका कारण आउने गरेको बताए। 

देश दर्शन कार्यक्रमलाई लक्षित गरेर हप्तामा दुई दिन शुक्रबार र आइतबार भइरहेको उडान यात्रुको सङ्ख्या बढ्न थालेपछि बुधबार पनि थपेर तीन दिन बनाइएको सिग्देलले जानकारी दिए। उनका अनुसार भारतसँगको नाका खुलेसँगै भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगञ्जबाट पोखरा हुँदै जोमसोमसम्म पुर्याउने लक्ष्य राखिएको छ। रासस

प्रकाशित मिति: : 2021-03-23 18:59:00

प्रतिकृया दिनुहोस्