बुधबार, १७ डिसेम्बर २०२५

'मे' पहिलो सातादेखि शुरु हुँदै सगरमाथा आरोहण 

File photo
• • •

वसन्तयामको आरोहणलाई व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले विशेष सुधारात्मक कामका साथ सक्रियता बढाएको छ।

साहसिक एवम् अति नै संवेदनशील मानिने सगरमाथा आरोहणलाई व्यवस्थित र गुणस्तरीय बनाउन विभागले आरोहण इतिहासमै पहिलोपटक चिकित्सकलाई सगरमाथाको आधार शिविरमै खटाएको छ। त्यसो त यसअघिका आरोहणमा पनि चिकित्सकको व्यवस्था हुने भए पनि उनीहरु सम्बन्धित स्थानमा पुग्दैन थिए। सम्पर्क अधिकृत पनि सम्बन्धित गन्तव्यमा नपुग्ने, बीचबाटै फर्किनेलगायतमा समाचार आएका थिए।

हिमाल आरोहणका लागि उपयुक्त वसन्तयाममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन्। आरोहणमा देखिएका विभिन्न जटिलता र विकृतिलाई नियन्त्रण गर्न नियामक विभागले पर्वतारोहणलाई व्यवस्थित गर्ने भएको हो।

विभाग, पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले यो वर्षको वसन्तयामको आरोहणमा सम्बन्धित क्षेत्रमै चिकित्सक रहने व्यवस्था मिलाइएको जानकारी दिईन्।

“सगरमाथा आरोहणलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउन हामीले विभिन्न व्यवस्थापन गर्ने क्रममा यो पटक सगरमाथाको आधार शिविरमै रहने गरी दुईजना चिकित्सक खटाइसकेका छौँ, उहाँहरु सम्भवतः त्यहाँ पुगिसक्नुभयो, अहिलेसम्मको आरोहण र अभिलेखलाई हेर्दा यो ऐतिहासिक काम भएको हामीलाई लागेको छ, आधार शिविरमै चिकित्सक राखेको अरू उदाहरण भेटेका छैनौँ”, उनले भनिन्।

विभागले स्वास्थ्य सेवा विभागअन्तर्गतका दुई चिकित्सकलाई काजमा सगरमाथाको आधार शिविरमा खटाएको छ। विभागले पर्यटन ऐन र पर्वतारोहण नियमावलीबमोजिम खटिने सम्पर्क अधिकृतलाई पनि व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बन्दोबस्ती मिलाएको निर्देशक आचार्यले बताईन्।

आरोहणका दौरानमा अन्य गतिविधि बढेकाले विभागले यस पटक तस्बिर र भिडियो खिच्न तथा त्यसलाई प्रकाशन÷प्रसारणमा कडाइ गरेको छ। आरोहीले हिमालमा आफ्नो आरोहण दलको गतिविधिलाई भने फोटो, भिडियोमा कैद गर्न सक्नेछन् तर ती सामग्री अन्य प्रयोजनका लागि पाइने छैन। आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि विभागबाट पूर्व जानकारी लिनुपर्नेछ। रासस

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!