गुरुयोजना तयार गर्न प्राधिकरण र केन्द्रबीच समझदारी

File photo
File photo

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा देशको दुर्गम स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडानसम्बन्धी गुरुयोजना तयार गर्न तथा जुम्ला जिल्लामा निर्माण भएका सात लघु तथा साना जलविद्युत् आयोजनालाई मिनीग्रिडमा आबद्ध गर्ने परियोजनालाई कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एनइए इञ्जिनियरिङ्ग कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

समझदारीअनुसार जुम्ला मिनीग्रिड परियोजना कार्यान्वयनको साथै आगामी आर्थिक वर्षमा १०० वटा सम्भाव्य लघु जलविद्युत् आयोजनाहरु पहिचान गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने लक्ष्य रहेको छ। समझदारीपत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी तथा नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका छन्। 

पटकपटक विद्युत् आपूर्तिको समस्या झेल्दै आएको जुम्ला सदरमुकाममा प्राधिकरणद्वारा निर्मित एक साना जलविद्युत् आयोजना तथा केन्द्रको सहयोगमा निर्मित छ आयोजनालाई मिनीग्रिडमा आबद्ध गर्नको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न एनइए इञ्जिनियरिङ्ग कम्पनी र केन्द्रबीच गत  कात्तिक २ गते सम्झौता भएको थियो। मिनीग्रिड निर्माणपश्चात् जुम्ला सदरमुकाममा विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।रासस

प्रकाशित मिति: : 2021-03-22 18:58:00

प्रतिकृया दिनुहोस्